राष्ट्रिय सोतोकान कराँतेको उपाधि नरहरिपुरलाई, उज्यालोकर्मी गिरी सम्मानित

भक्तपुर, जेठ २ – दोस्रो अनन्तलिंङ्गेश्वर राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता–२०७३ को उपाधि काठमाडौंको नरहरिपुर डोजो टिमले जितेको छ । सोतोकान कराँते–डो संघ नेपाल, भक्तपुरको आयोजनामा भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका स्थित महेन्द्र शान्ति माविमा जेठ १ गते बेलुका सम्पन्न प्रतियोगितामा ७ स्वर्णसहित काठमाडौंको नरहरीपुर डोजो टिमले उपाधि जितेको हो । प्रतियोगितामा ६ स्वर्णसहित भक्तपुर डोजो फस्ट रनरअप भएको छ भने भक्तपुर सोवोकान वेष्ट डिसिप्लेन टिम घोषित भएको छ । विजेता टिमलाई क्रमश : नगद पुरस्कार पाँच हजार, फस्ट रनरअपलाई दुई हजार पाँच सय र उत्कृष्ट पुरुष तथा महिला टिमलाई जनही दुई हजारसहित ट्रफी र मेडल प्रदान गरिएको थियो । २२ स्वर्ण, २२ रजत र ४४ कास्य पदकका लागि भएको प्रतियोगितामा काठमाडौं उपत्यका लगायत धादिङ, काभ्रे, कास्की, चितवन लगायतका जिल्लाबाट दुई सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा उज्यालोकर्मी पत्रकार रमेश गिरी र खेल पत्रकार दुर्गा दुलाललाई सम्मान गरिएको थियो ।