महत्वपूर्ण निर्णयहरु गर्दै एनआरएन,अमेरिकाको कोलोराडो वैठक सम्पन्न !!



कोलोराडो /   गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिकाको वैठक महत्वपूर्ण निर्णयहरु गर्दै कोलोराडोको डेनभरमा सम्पन्न भएको छ । एप्रिल ३०,२०१६ मा गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिकाको अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको वैठकमा क्षेत्रीय संयोजक सोनाम लामा , उप-क्षेत्रीय संयोजक एसि शेर्पा र सल्लाहकार बि आर लामाको विशेष उपस्थिति रहेको थियो । संघका महा सचिव तिलक श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सुरु भएको उक्त वैठकले एक वर्ष भरीमा गरेको कार्यहरुको समिक्षा समेत गरेको छ । 
         
आगामी अगष्ट महिनाको २७ र २८ मा न्यु जर्सी राज्यमा हुन गै रहेको अन्तराष्ट्रीय समन्वय परिषदको क्षेत्रीय सम्मेलनलाई वृहत रुपमा सफल तुल्याउन कार्यकारी समिति तयार गरि सकिएको र मूल समितिको समेत खाका तयार भई उप समितिहरु निर्माणको लागि चाँडै कार्य अगाडि बढाउने र प्रेश मार्फत सबैमा जानकारी समेत गराइने जानकारी क्षेत्रीय संयोजक सोनाम लामाले प्रष्ट्याएका थिए । उप-क्षेत्रीय संयोजक एसि शेर्पाले क्षेत्रीय सम्मेलनलाई सफल तुल्याउन कुनै कसर बाँकी राख्न नहुने र हामी अमेरिकामा रहेका एनआरएनहरुको लागि यो सम्मलेन एउटा ठूलो अवसर हो र यो सम्मेलनले महत्वपूर्ण निर्णयहरु गर्ने कुरा पनि प्रष्ट्याएका थिए । 
     
एनआरएन कम्युनिटी सेन्टर ( सामुदायिक केन्द्र )न्युयोर्कमा निर्माण गर्नको लागि समिति तयार भै सकेको र कार्य अघि बढाइ सकेको हुनाले वैठकले कम्युनिटी सेन्टर निर्माणका लागि आवश्यक पर्ने फण्ड संकलनका लागि कार्यक्रमहरु चाँडै ल्याउने निर्णय गरेको छ । संघको सदस्यता वितरणलाई प्रभावकारी एवम् सरल बनाउनको लागि सदस्यता कमिटीले एक महिना भित्रमा खाका तयार गरी सदस्यता वितरणलाई हरेक राज्यका च्याप्टरहरु सँग समन्वय गरी अगाडि बढाउने निर्णय गरेको छ साथै एनआरएन परिचय पत्र वितरणको लागि पनि सोही समितिले खाका तयार गरी परिचय पत्र वितरण कार्यलाई चाँडै अगाडि बढाउने निर्णय पनि गरेको छ । वैठकले लामो समय देखि रोकिएको च्याप्टरहरुको रकम निकासा आवश्यक पर्ने कानुनी प्रावधानहरु पूरा गरी निकासा गरिने निर्णय पनि गरेको छ । 
क्षेत्रीय उपाध्यक्ष वन्दना कोइरालाको अध्यक्षतामा साहित्य समितिलाई वैठकमा उपस्थित सर्व सम्मतले पारित गरेको छ । 

    
वैठकले टेक्सास राज्य अन्तर्गत निर्माण गर्ने भनिएको फ्युनरल भवन निर्माणको लागि आवश्यक पर्ने प्रावधानहरु अगाडि बढाउने निर्णय गरेको छ त्यस्तै गरेर वैठकले आगामी दिनहरुमा अमेरिका स्थित विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुमा सकृय सहभागिता जनाउने निर्णय पनि गरेको छ । च्याप्टर अध्यक्ष एवम् प्रतिनिधिहरुको वैठकबाट निर्णय भई आएका निर्णयहरुलाई पुर्ण रुपमा समर्थन र सम्बोधन गर्ने निर्णय समेत सो वैठकले गरेको छ । वैठकको अन्त्यमा क्षेत्रीय संयोजक सोनाम लामाले एनआरएन संस्था प्रतिको जिम्मेवारीलाई वहन गर्नको लागि आउनु हुने राष्ट्रीय समन्वय परिषदका सबैलाई धन्यवाद दिएका थिए भने अध्यक्ष डा. केशव पौडेलले वैठकलाई समापन गर्दै सबैमा कृतज्ञता व्यक्त गरेका थिए । 
         
वैठक सकिए लगतै एनआरएन,कोलोराडो च्याप्टरका अध्यक्ष वासु देव खनालको सभापतित्वमा एक परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल , विशिष्ट अतिथिहरु क्षेत्रीय सोनाम लामा एवम् उप-क्षेत्रीय संयोजक एसि शेर्पाले सो परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सम्पूर्ण उपस्थित संघ संस्थाका प्रतिनिधि,पर्यवेक्षक, वुद्दीजिवी,पत्रकार र कोलोराडोबासी लाई धन्यवाद दिएका थिए । सो कार्यक्रममा कोलोराडो स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु एवम् वुद्दीजिवीहरुले खुलेर एनआरएनले गरेका कार्यहरुको प्रशंसा गरेका थिए भने एनआरएनको सदस्यता लिनु पर्ने र एनआरएन नै हामी प्रवासीहरुको एक मात्र छाता संस्था भएको कुरा समेत राखेका थिए । कोलोराडो च्याप्टरका सदस्य कुमार जंग कार्कीले संचालन गरेको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद,अमेरिकाका वरिष्ठ उपाध्यक्ष , क्षेत्रीय उपाध्यक्षहरु, महासचिव, सल्लाहकारहरु र च्याप्टरका अध्यक्ष तथा प्रतिनिधिहरुले समेत सम्बोधन गरेका थिए । कार्यक्रममा कोलोराडो च्याप्टरका पदाधिकारीहरुलाई प्रमुख अतिथि एवम् विशिष्ट अतिथिहरुले प्रमाण-पत्र र खदा लगाएर सम्मान गरेका थिए । परिचयात्मक कार्यक्रमको आयोजना कोलोराडो च्याप्टरले गरेको थियो । 

तिलक श्रेष्ठ 
महा सचिव
एनआरएन,अमेरिका