आन्दोलनरत दलहरुसँग वार्ता गर्छौँ ः महामन्त्री कोइराला

हेटौँडा जेठ, १२- नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुक र जनताप्रति जिम्मेवार हुँदै काँग्रेसले संविधान कार्यान्वयनका लागि आन्दोलनरत दलहरुसँग छिट्टै वार्ता गर्ने बताउनुभएको छ ।
नेका मकवानपुरद्वारा क्षेत्र नं २ को क्षेत्रीय प्रशिक्षण कार्यक्रमको आज यहाँ उट्घाटन गर्दै उहाँले भूकम्पपछिको पुनःनिर्माणमा सरकार उदासिन भएकाले भूकम्पपीडितको दलहरुप्रति वितृष्णा उत्पन्न हुन थालेको उल्लेख गर्नुभयो । महामन्त्री कोइरालाले अब नेकाले प्रजातन्त्रको सुदृढीकरण र संविधानलाई क्रियाशील तुल्याउन सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता बढ्दै गएको बताउनुभयो । सरकारले लचिलो र व्यवहारिक भएर आन्दोलनरत दलसँग वार्ता गरेर विद्यमान समस्या टुङ्ग्याएर स्थानीय निर्वाचनमा लाग्नुपर्नेमा महामन्त्री डा कोइरालाको जोड थियो । सो अवसरमा नेका केन्द्रीय सदस्य धनराज गुरुङ र सभासद् इन्द्रबहादुर वानियाँले काँग्रेसले व्यवस्थापिका–संसद्मा रहेका सबै दलसँग सहकार्य गरेर राजनीतिक विवादको अन्त्य गर्ने र मुलुकमा स्थायी शान्तिका लागि काम गर्ने बताउनुभएको थियो । दुई दिनसम्म चल्ने सो प्रशिक्षणमा क्षेत्र नं २ का करिब २७५ प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् । रासस