म, ऊ : सपना, विपना - यज्ञ डुम्रे (कविता)


म, ऊ सपना: विपना

मेरा प्रत्येक सपना, सपना हुन् रे
जो विस्मृतिमा हुन्छन हरेक विहान
आखिर सपना न हो उसको पनि ,
होइन रे , उसका सपनाहरु विपना बन्नु पर्छ रे,
जो प्रत्येक विहान स्मृतिमा हुन्छन |

मेरा सपनाहरुलाई मैले कसी लगाएर हेरे ,
जो मेरो नजरमा नम्बरी सावित भए
तर मेरो अन्दाज फगत रह्यो
म बोलें बा..मेरो सपना नम्बरी सुन हो ?
बा बोले ,
तेरो सपना त पित्तल पनि होइन
तँ र ऊ, सपना र विपना बीच विशाल खाडल छ
उसले आफ्ना झुठ सपनालाई पनि जलप लाउछ
जो पित्तल सपना उसको, नम्बरी सुन बन्छ

म फेरी प्रश्न गर्छु
मेरो सपना किन सपना ?
उसको सपना किन विपना ??
बा बोले-
ऊ शहरको अस्पतालमा जन्मियो ,
तँ कर्णालीको जंगलमा
उसकी आमालाई प्रसव वेदना नै आएन
तेरी आमा घाँसको भारी तँ, अनि
सालनाल संगै आँगनको डीलमा उभीई
हँसियाले तेरो नाल काटियो

ठिक तेही बेला
उसको ड्याडी अमेरिकामा आसामी उठाउदै थियो
यता तेरो बा, नुन मट्टीतेल किन्न सुर्खेत झर्या थियो
उसको ड्याडी छोराको प्रत्येक सपनालाई
विपना बनाउने हैसियत राख्छ
तेरो बा तँलाई सम्झाउने कोशिस मात्र गर्छ
सपना, सपना हो छोरा
तर
म भित्र तेही प्रश्न फेरी दोहोरिन्छ
पुरै कर्णाली नै घुम्छ
आखिर किन ? कहिलेसम्म ?
मेरो सपना -सपना
उसको सपना -विपना ?

स्याङ्गजा, हाल लण्डन, यु.के