पूर्व महिला सभासदलाई मरणाशन्न हुनेगरी कुटपिट

गौशाला, जेठ ४ - महोत्तरी जिल्लाबाट एनेकपा माओवादीका पूर्व सभासद रहनुभएकी बुधनीदेवी महतोलाई सोमबार राति नचिनेका मानिसको समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ ।

लक्ष्मिनिया गाविस–८ की पूर्व सभासद् महतो राति आफ्नै घरमा बसिरहेको बेला ८/१० जनाको समूहमा आएको नचिनेका मानिसले उहाँलाई मरणाशन्न हुनेगरी कुटेको माओवादी नेता महादेव यादवले बताउनुभयो ।

घरेलु हातहतियार र लठ्ठी भाटा लिएर आएका अज्ञात व्यक्तिको कुटाइबाट सभासद महतो गम्भीर घाइते हुनुभएको छ । उहाँको अवस्था चिन्ताजनक छ ।

उनीहरुले राति १० बजेको समयमा आफ्नै सुत्ने कोठामा बसिरहेकी उहाँलाई शरीरभरि अन्धाधुन्द लठ्ठी र भाटा प्रहार गरी घाइते बनाएका थिए ।

 अहिले उहाँको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको माओवादी नेता पिकरु पासवानले बताए । सभासद महतोलाई कसले के कारण कुटपिट गरेको भन्नेबारे केही खुलेको छैन । जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई यस घटनाबारे केही जानकारी नभएको जनाइएको छ |