वैशाख २५ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं वैशाख, १९- सरकारले वैशाख २५ गते आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । सभामुख ओनसरी घर्तीले आइतबार प्रमुुख दलका प्रमुख सचेतकसँग छलफल गर्दै २५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समय तोक्नुभएको हो । मंगलबार बस्ने संसदको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र त्यही दिन दोस्रो बैठक बसेर प्रि–बजेट छलफल थालिने एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । चार दिन दलगत आधारमा प्रि–बजेटमा छलफल गरेर २५ गते नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सरकारले प्रि–बजेट छलफल भन्दा पहिले नै नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि विगतको परम्परा र विपक्षी कांग्रेसको अडानका कारण पछि हटेको हो ।