म उभिएको डिल -दीपक विश्वकर्मा (कविता)

दीपक विश्वकर्मा

म उभिएको डिल

सेतीका किनारमा ठिङ्ग उभिएर
सर्दीका पाखापखेरामा नियाल्थेँ
म एकाबिहानै र कविता जुराउँथेँ
यद्यपि कविता कविता हुन्थेन
शब्दमा ज्यान हुन्थेन
अन्तरामा आत्मा हुन्थेन
र पनि म लेख्न छोड्थिन
पानाहरू रंगाउँथेँ
कालानीला र सिरानीमा चाङ्ग लगाउँथेँ ।

सखारै उठेर सेताम्मे चुचुरा नियाल्दै
कल्पनासागरमा डुबुल्की मार्थेँ
उढ्थेँ मालचरा जस्तै र
शिखर पार गर्थेँ
जुराउँथे कथा र आकाशलाई सुनाउँथेँ
ती कथा, कविता र अन्तरमनहरू
यतिका वर्ष पछि
जो दविएर रहे सिरानी तल
वर्ष, दशकको चाङ्गसंगै गुम्सिएर ।

मेरो प्यारो पोखरा
म रहिन त के भो तिम्रा केशराशीहरु सम्हाल्न
तिम्रा अवयवहरु सिंगार्ने
जुनहरु उदाएका छन्
तिम्रो आकाश उज्यालो पार्ने
ताराहरु उदाएका छन्
तिम्रा बिछट्ट सन्तानहरुले
तिमीलाई आँखामा बसाएका छन् ।
जुग पहिलेको कुरो हो यो
म पुग्थे पार्दी र नौका सवार हुन्थे
पबित्र जलराशीको थुम्को भित्र पसेर
अन्तरहरू चहार्थे
मेरो प्यारो विजयपुर ढकमक्क भयौ सायद
खेत, खलियान र आगन छिचोल्दै
उकालिन्थे तिम्रो बगल हुँदै
र चहार्दै गाउँका पाखापखेराहरू
सुसेल्थेँ गीत बजाउँथे असुराका पातहरू ।

सुरुङ्गहरू पार गर्दै भासिन्थे धर्तीको गर्भमा
निस्सासिन्थे  निष्पट अध्यारो भित्र
छामछाम छुमछुम गर्दै पहिल्याउँथँ मार्ग
फर्केर आउँथे दैलो चहार्दै गुँडमा बसेराथेँ
र जीवनको खोजि गर्दै कोर्दथे बक्ररेखाहरू ।

रेखा सरल हुन सकेनन् यद्यपि कहिल्यै
र पनि बिन्दुहरू थपिदै गए चाङ्ग लाग्दै
सरल या बक्र
अध्र्व वा पूर्ण
कोण या षडकोण
मार्गचित्रहरू श्यामस्वेत वा रंगीन जो बने
तिम्रै पाखा पखेराका डिलमा उभिएरै बने ।
बुटवल, २०७३ जेष्ठ १०