फोटो पत्रकार कार्कीलाई मदन भण्डारी पुरस्कार

काठमाडौं, जेठ २ - प्रधानमन्त्री केपी शर्मा ओलीले फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३ प्रदान गर्नुभएको छ । एमाले पार्टी कार्यालयमा आयोजित २३ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कार्कीलाई ५१ हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित पुरस्कार प्रदान गर्नुभयो । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागद्वारा यसै वर्षदेखि दिन थालिएको यो पुरस्कार प्रदान गर्दै एमाले अध्यक्ष ओलीले व्यावसायिक पत्रकारलाई मदन भण्डारीका नाममा पुरस्कार प्रदान गरेर एमाले जनताका खोलिएको पार्टी भएको पुष्टि भएको बताउनुभयो । कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले फोटो पत्रकार कार्कीले मदन भण्डारीका तस्बिर सञ्चारमाध्यममा प्रकाशन गरी दिएको योगदानको मूल्याङ्कन गर्दै उहाँलाई पुरस्कार दिइएको जानकारी गराउनुभयो । उहाँले आउँदो वर्षदेखि स्नातकोत्तर तहमा आमसञ्चार विषयमा अध्ययन गर्ने दुई विद्यार्थीलाई शोधपत्र तयारका लागि रकमसमेत उपलब्ध गराउने जानकारी गराउनुभयो । पुरस्कारका लागि १५ लाख रुपैयाँको अक्षय कोष समेत स्थापना गरिएएको छ । पुरस्कारका लागि नारायण ढकाल संयोजक तथा  शिव गाउँले र वासुदेव अधिकारी सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । रासस