अमेरिकी ग्रीन कार्डले च्याँपेको अस्वीकृत साईनो -सरगम भट्टराई


ए राधा ! ''खोई दुधको ठेकी निकाल्देऊ त म डेरीमा दुध पुर्याउन जान्छु।''
रघुनाथ बाजेले गोठबाट खटटट गर्दै पुरानो साईकल निकाल्दै चिच्याए।

राधाले भुईमा झर्छ भनेजस्तै गरि सावधानीले ल्याएको दुधको ठेकी दिदै भनिन् : ''ल लिनुस । फर्कँदा एक डल्लो साबुन र चिनी ल्याउन नभुल्नू नि फेरि।''  साबुन सकिएर तातो पानी र खरानीले -लुगा धोएको एक हप्ता भैसक्यो।

रघुनाथ टाउको हल्लाउँदै बजारतिर हिँडे। दिनहूँ दुध डेरीमा लगेर बेच्नु उनको दिनचर्या थियो। बाहुन भएकोले होला सबैले उनलाई रघुनाथ बाजे भनेरै बोलाउँथे । लैनो बकेर्नु भैसी बाहेक पुर्ख्यौली जमीनमा भएको खेतीपातीले जेनतेन घरखर्च चलेकै थियो।

मृत्युले दुधे छोरी शान्तालाई चटक्कै छाडेर उनकी पहिलेकि श्रीमतीलाई लगेको पनि पच्चीस पुगी छब्बिस बर्ष लागेछ। राधा रघुनाथकी दोश्री श्रीमती हुन् ।

दोश्रो बिहे पछि राधाको कोखबाट तीन भाइ छोरा बर्षौँटे जन्मे। बडो मेहनतले रघुनाथ दम्पतीले जमाना अनुसार दुख गरेर छोराहरुलाई पढाए पनि। छोरी शान्ताको बिहे भईसकेको थियो । दुख जिलो गरी दुध र अन्नपात बेचेरै छोराहरुले हाईस्कूल पास गरे त्यो पनि बिशिष्ट श्रेणीमा।

आई एस्सी पश्चात ठूलो छोरो सुजन अमेरिका पढ्न जान्छु भन्यो, भएको पुर्ख्यौली जग्गा बेचेर ऋणधन गरी छोरों अमेरिका पनि पठाए। माईलो छोरो सुदिपले भारतमा ईन्जिनियरिंग पढ्न गयो भने कान्छो छोरा सुमनले राजनीति तिर हात हाल्यो। प्रष्टसंग भाषण गर्न जान्ने सुमनले राम्रै स्थान पाएको थियो राजनीतिमा, होनहार युवा नेताको रुपमा छोराको लोकप्रियता बढिरहँदा शर्मेनी बजैको नाकको लम्बाई नबढ्ने कुरै भएन।

हेर्दा हेर्दै संघर्षका दिनहरु सकिएछन, ठूलो छोरो सुजनले  बा आमालाई अमेरिका घुमाउने पनि भो। छर छिमेकमा शर्मा परिवारको चर्चा ह्वात्तै बढ्यो। खानपान बोली चाली आदिमा आधुनिकता झल्किन थाल्यो, यतिन्जेल सम्म आफ्नै पसिनाले चिटिक्कको घर पनि बनाईसकेका थिए।

अमेरिकाको भिसा प्रकृया सकिएपछि अमेरिका पनि हिंडे बुढाबुढी। बटौली र काठमांडु बाहेक अरु ठाउँ नदेखेकालाई अमेरिका सपना जस्तो लाग्ने नै भयो।

ए बूढा ! अमेरिका कस्तो होला है ! मलाई त कहिले पुगौँ पुगौँ भाछ , त्यहाँ त पानी मुनि, जमिनमूनि रेल कुद्छ रे ! धुलो धुवाँ केहि हुँदैन रे ! एक डलरको त एक सय भन्दा बढि पो हुन्छ रेन्त ! रघुनाथले सबै कुरा देखेजस्तो गरी टाउको मात्र हल्लाईरहे ।


अन्तत: अमेरिका जाने सबै तयारी पूरा भयो । जहाजमा पहिलो पल्ट चरीजस्तै उडेर अमेरिका जान पाउँदा बिगतमा गरेको मेहनत संझेर एक अर्कालाई हेरेर मुस्कुराउँदा उनीहरुको पुरै संसार हाँसेको थियो । शाकाहारी रघुनाथका बूढाबूढीले २८ घन्टे लामो पट्यारलाग्दो यात्रामा पानी र जुस बाहेक केहि खाएनन् । एयरपोर्टमा जेठो छोरो सुजन शर्मा बूढाबूढीलाई स्वागत गर्न ब्यग्र थियो ।

ठूला ठूला घर, मिलेको बस्ती, सफा शहर, फूलै फूलको बगैचा, न बन्द न हडताल स्वर्ग जस्तै लाग्यो नि अमेरिका त। दुई चार दिन राम्रो संग घुमे बूढाबूढी, अमेरिकाको बिकास देखेर साक्षात स्वर्गसंग तुलना गरे उनीहरुले । दुई महिनाको बसाई दुई दिनको जस्तो नलाग्दै बिति गो ।  बूढा बूढी नेपाल फर्केँ ।

यो एक दुई महिना बिच शर्माको परिवारमा चामत्कारिक परिवर्तन भो त्यो पनि चलचित्रको कथा जस्तै , अमेरिकाको सुखमय स्वर्गको साथीभाइ ईष्टमित्रलाई बयान गर्न नभ्याउँदै  बूढाबुढीले नचाहेरै पनि सुन्नु पर्ने खबर आयो : माईलो छोरा सुदिपले उतै आफ्नो सहपाठी केटीसंग बिहे गरेछ ।
टेलिफोनमा बूढा कड्किदै थिए : हैन दाजुकै बिहे नगर्दै तँ स्वाँठलाई कत्ति बेर भएको हँ बिहे गर्न ? हैन के जातको हो के धर्मको हो कुलको ईज्जत नै फालिस हैन ? एक वचन हामीलाई सोध्नसम्म पनि सकिनस है ! टेलिफोनमा झपारेपछि रघुनाथ बाजे पुर्पुरोमा हात लगाउँदै पिँढीमा टोलाईरहेका थिए ।

शर्मेनी बजैले दही मथ्दै चिच्याउँदै थिईन् : कति कराएको त्यस्तै समस्या पर्यो होला नि त ! छोराले गर्यो त गर्यो ।  बूढाले एकोहोरो गाली गरेर फोन राखिदिए ।

एक कान दुई कान मैदान सुदिपले बिहे गरेको कुरा  सबैतिर चर्चा भयो । भारतीय मूलकी तामिल केटीसँग बिहे  गरेको कुरा भुसको आगो जस्तै फैलियो ।

चलचित्रकै कथा जस्तो कान्छो छोरो सुमन एकदिन अकस्मात् घर आईपुग्यो , उसको साथमा एउटी राम्री केटी थिई । बूढा बुढीलाई ढोगिदिए पछि उनीहरुतिर देखाउँदै सुजनले भन्यो : सुधा ! वहाँ मेरो बुवा आमा !

सुधाले निहुरिएरै ढोग्न लाग्दा बूढाबूढी हच्किए : हैन sss को हुन् यी नानी , हामीले चिनेनौ नि !
सुमनले कपाल कन्याउदै भन्यो मलाई माफ गरिदिनुस मैले खबर गर्ने मौकै पाईन , पार्टीले अचानक बिहे गर्न दवाव दियो र हामीले बिहे गर्यौ ।
हैन तँ पनि सुदिप जस्तै ठूलो मान्छे भईस हैन ? तँलाई आफ्नै बा आमा भन्दा ठूलो पार्टी भयो हैन ? को हो के हो हामीले जान्न सुन्न पर्दैन ? के हाम्रो त्यति अधिकार सम्म छैन छोरा ?

सुधा साँच्चै राम्री थिई, शर्मेनी बजैले मन पगालिहालिन् : छोरोको खुशी हाम्रो खुशी । ल आओ , हामी आशिर्वाद दिन्छौँ , अब हामीलाई छोराले गनेन भन्दैमा हामीले कर्तब्य भुल्नु त भएन नि !  एकै छिनमा छर छिमेक बोलाएर दुलही भित्र्याईयो । केहि दिनको बसाई पछि सुजन र सुधा काठमांडौ फर्के । बुहारीको आनी बानी बुझ्ने मौकै मिलेन ।

कति छिटो दुई बर्ष बितिसकेछ । एक दिन रघुनाथजीले औला गनेर सिध्याएर पत्नी राधालाई भने : थाहा पायौ सुजन त ३० बर्ष पो लागेछ त ! शायद बिहेको प्रसंग निकाल्न खोज्दै थिए बूढा, शर्मेनी बजैले सुनिनन् क्यारे केहि जवाफ फर्काईनन् ।

अब बूढा बूढीको आशाको एउटै त्यान्द्रो बाँकी रह्यो, झ्याम झ्याम पन्चे बाजा बजाएरै ठूलो छोरा सुदिपको  बिहे गरिदिने,  सुन्दर बुहारी भित्र्याउने र छरछिमेक नातागोता सबैलाई बोलाएर भोज गर्ने आदि आदि ।

एक दिन बूढा घोरिएर बसिरहेको बेला अमेरिकाबाट सुजनको फोन आयो : बुवा अब भाइहरुले पनि बिहे गरे । सबै जान्ने सुन्ने नै छन् । अब हजुरहरु गाउँमा एक्लै हुनु भयो बरु काठमाँडौतिर सर्ने हो कि ? कति दुख गरिरहनुहुन्छ ?

आफैले पसिना बगाएर चर्चेको यत्रो सम्पत्ति छोडेर भाडाको घरमा बस्न हामी जान्नौँ छोरा । हामीलाई त यहिँ प्यारो छ । अब यहिँ मर्ने हो । अरुको घरमा मर्यो भने स्वर्ग गईन्न भन्छन, रघुनाथले नरम जवाफ दिए ।

सुजनले बिकल्पको रुपमा केहि समय फेरि घुम्न अमेरिका आउन अनुरोध गर्यो, दुई महिनाको बसाईमा सबै भेउ नपाईसकेका बूढाबूढीको ग्रामप्रेम अमेरिकाको कुराले बिषयान्तर गर्यो ।

अहा ! अमेरिका सबै नेपालीहरुको सपनाको देश , बिज्ञान र प्रबिधिले भरिपूर्ण , कहिल्यै लोडशेडिंग नहुने, हराभरा, सफा शहर । बूढाबूढीलाई राम्रै लागिरहेको थियो । कहिलेकाहिँ बिहेको कुरा गर्दा सुजनको एउटै रेडिमेड जवाफ आउँथ्यो : बिहे त गरौँला नि नयाँ ईतिहाँस रचेर ! के हतार भो र ?

सुजनले  यसो भन्दा रघुनाथ दम्पतीले पन्चे बाजा , जन्तीको लश्कर र हुनेवाला बुहारी, नाती नातिनीको परिदृश्य आँखाभरि झिलमिलाएको अनुभूति गर्थे ।

सुजन  राति अबेर आउथ्यो, कामबाट थाकेर आए होला भन्दै शर्मेनी बज्यैले खाना ठिक्क पारिदिन्थिन, संगै बस्ने उसको अमेरिकी साथी जोहनसंग असाध्य मिल्थ्यो सुजन । उनीहरु एक छिन पनि छुट्टिदैनथे, बूढा बूढीलाई यस्तो लाग्थ्यो उनीहरु पूर्वजन्ममा दाजुभाइ हुनुपर्छ । जोहनले पनि बूढाबूढीलाई असाध्य माया गर्थ्यो ।

पाँच बर्ष अघि बिद्यार्थी भिसामा अमेरिका आएको सुजन र जोहनको मित्रता नेपालमा भएको भए मान्छेहरु कृष्ण र सुदामाको मित्रता संग तुलना गर्थे होला । उनीहरुसंगै खाने संगै सुत्ने र संगै घुम्ने गर्दा परदेशमा पनि प्यारो भाइ भेटिछस् भनेर रघुनाथ दम्पतीले जोहनको तारिफ़ गरिरहन्थे ।

वल्लो पल्लो गाउँ र जिल्लामै पहिचान बनाएका रघुनाथलाई अमेरिकामा कसले चिनोस र सुमनका केहि नेपाली साथीहरुकोमा कहिलेकसो खाना खान जाने र नेपाली नयाँ बर्ष र दशैतिहारमा हुने नेपालीको जमघट बाहेक अरु रमाईलो केहि थिएन , बुढाबूढीलाई अमेरिकाका रंगिबिरंगी फूलहरु पनि फिका लाग्न थालिसकेका थिए, दिनभरिको पार्कतिरको घुमाईमा कतै नेपालीहरु देख्दा आफ्नै सहोदर भाइ छोरा जस्तो लाग्थ्यो उनीहरुलाई । सबैतिर गाईखाने अंग्रेजीमा मान्छेहरु बोलिरहँदा नबुझेर टाउको हल्लाउनु पर्दा कति कति बेला हीनताबोध भईरहन्थ्यो बूढाबूढीलाई ।

छरछिमेक नातागोता र गाउँ घरको मायाले ६ महिनामै रघुनाथ दम्पतीलाई कहिले जाउँ जाउँ लाग्ने भईसकेको थियो । सुमन धेरैजसो बाहिरै हुन्थ्यो , ढिलो हुँदा फोन गरेर खाना खान सुझ्याउथ्यो ।

एकदिन आईतबारको दिन रघुनाथले सुमनलाई मुख फोरेरै भने : बाबु सुजन : भाइहरुका छोरा छोरी भईसके , आ-आफ्नै मर्जीले बिहे गरे, अब तिम्रो बिहे नेपालमै गएर धुमधाम गर्नुपर्छ है ! हामीलाई हेरचाह गर्ने शुशील बुहारी खोज्नुपर्छ ! रघुनाथले यसो भनिरहँदा राधाले जून जस्तै उज्यालो मुख पारिरहेकी थिईन् ।

सुजन घोप्टे मुन्टो लाईरह्यो , केहि बोलेन । संगै चिया पिउदै गरेको जोहनलाई रघुनाथले बोलेको कुरालाई अंग्रेजीमा अनुवाद गरेर सुनाउँदा जोहन पनि टाउको निहुर्याईरहेको थियो ।

हैन किन बोल्दैनस ? अब बेला टर्यो बाबु ! हामीलाई पनि नाती नातिनीको मुख हेर्नुपर्छ, अब बुढेसकालमा आज हो कि भोलि मरिने हो , रघुनाथ  एकोहोरो बोलिरहँदा पनि सुजन एक शब्द  को जवाफ दिईरहेको थिएन । यस्तै गरि धेरै पल्ट शर्मा दम्पतीले जवाफ पाएनन् ।

एक दिन संयोगवश सूजनको सुत्ने कोठाको ढोका खुलै थियो नचाहँदा नचाहँदै आफ्नै आँखाले कहिल्यै नसोचेको, नदेखेको र देख्न नचाहेको दृष्य रघुनाथले देख्नु पर्यो ।

रघुनाथ बेहोश जस्तै बने , सपना हो कि भनेर आफ्नै कान चिमोटे , खुट्टाले दह्रो गरि टेके , बिपना नै रहेछ : सुजन र जोहन सर्बांग नांगै एक अर्काको अंगालोमा बेरिएर परस्पर चुम्बन गरिरहेका थिए । आज बल्ल एकपटक टि. भी. मा देखेको समलिंगी सम्बन्धको परिचय आफ्नै मुटुको टुक्राबाट पाउँदा उसकै बाबु भएकोमा प्रायश्चित गरिरहेका थिए । उसले भनेको नयाँ ईतिहाँस त यस्तो पो रहेछ !

राधालाई रघुनाथले यी सबै कुरा बताउन सकेनन , ग्रीनकार्डको लोभमा समलिंगी बिवाह गरेको सुजनको  वास्तविक रुप त्यतिखेर मात्र उनलाई छर्लंग भयो जतिखेर अर्को दिन उसको कोठाको दराजभित्र लुकाएका फोटोहरु देखे ।

त्यो रातभरि रघुनाथ सुतेनन, एक रात पनि एक युग जस्तो लागिरहेको थियो भोलिपल्टै रघुनाथले आफ्नो झोला संगै आफ्नो मन पनि कँसे , राधालाई एक्कासी भोलि नेपाल जान तयार हुन भने , राधा अलमल पर्दै यताउता गरिरहिन् । हैन के भो हजुरलाई एक्कासी किन नबोलेको ? छोराले केहि भन्यो र ?

रघुनाथले एक एक गर्दै सबै कुराको पर्दाफास गरे, शर्मेनी बजैको ओठतालु सुक्यो , घरको छत उल्टोतिर फर्क्यो, टाउकोले जमिन टेकेजस्तै भो , थचक्क भुईमा बसिन् र चिच्याईन: भो बूढा यसपाली म बुहारो  भित्र्याउन सक्दिन ल हिड आफ्नै देश जाउँ । यहाँको चुच्चो परेको रेल भन्दा हाम्रै खटारो साईकल बेश छ । सुन्दर शुशील बुहारी, पंचेबाजा, जन्तीको लावालश्कर र नाती नातीनि सबै दृष्यहरु एकाएक ओझेल परे उनीहरुदेखि ।

अर्को दिन बिहानै बूढाबूढी क़तार एयरलाइन्सको उडानमा नेपाल उडे , अमेरिका कहिल्यै नफर्कने क़सम खाएर । उता सुजनले टेबलमा एउटा चिठ्ठी फेला पार्यो , जसमा लेखिएको थियो : बाबु सुजन तिम्रो हामीलाई मन नपरेको अप्राकृतिक संसारमा तिमी आफै रमाउनू र हामी मर्यौ भनि ठान्नू , हाम्रो भत्केको सपनामा डोजर लगाउन नआऊनू । पर्समा रहेको ग्रीन कार्ड उल्टाई सुल्ट्याईकन सुजनले आफ्नो परिचय खोजिरहेको थियो ।