मृत्यु पर्खिँदै डाक्टर, सहयोगका लागि अपिल

एजेन्सी जेठ, १२ – सिरियामा काम गर्दै आएका सहायताकर्मीले आफूहरुको सुरक्षाका लागि पहल गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । सहायताकर्मीले आफूहरुलाई प्राणघातक आक्रमणबाट जोगाउन र सहायता सामग्री प्रभावित तथा अत्यावश्यक समुदायसम्म पुग्ने वातावरण बनाउनका लागि सहयोग गरिदिन आग्रह गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । टर्कीको स्थानबुलमा भएको विश्व मानवीयता सम्मेलनमा स्वास्थ्य संस्थाका प्रमुखले सिरियामा अहिले आक्रमणबाट जोगिनका लागि अस्पताल अन्डरग्राउण्ड (जमिनमुनि) वा गुफामा चलाउनु पर्ने अवस्था रहेको बताए । सिरियामा काम गर्नु भनेको मृत्युलाई पर्खिनु जस्तै रहेको सिरियामा काम गर्दै आएको युनियन अफ मेडिकल केयर एण्ड रिलिफ अर्गनाइजेसन युओएसएसएमका प्रमुख डा. जेडुयुन अल जोयुबीले बताउनुभयो । अहिलेसम्म सिरियाबाट १० हजार डाक्टर पलायन भएको र अब द्वन्द्व प्रभावित क्षेत्रमा एक हजारको हाराहारीमा मात्रै डाक्टर रहेको उहाँले बताउनुभयो । विश्वका जुन सुकै ठाउँमा युद्धको समयमा अस्पताललाई सबै भन्दा सुरक्षित स्थान मानिने गरेको भएपनि सिरियाको अवस्था त्यस्तो नरहेको उहाँको भनाई छ । अस्पताल रहेको क्षेत्रलाई नै लक्षित गरेर आक्रमण हुने गरेको छ । यो महिनाको सुरुमा स्वास्थ्य सहयोग संस्था मेडिसिन सान्स फ्रन्टिएरस्ले सिरिया, यमन तथा अफगानिस्तानमा अस्पतालमा आक्रमण हुने गरेको भन्दै राष्ट्रसंघीय सुरक्षा परिषदको ढोका ढकढक्याएको थियो । तर त्यसपछि पनि आक्रमणको क्रमम रोकिएको छैन ।