अतिरिक्त मन्थन -दीपक विश्वकर्मा



मधुशालाको अतिरिक्त प्यादा
पारखीहरुको अतिरिक्त स्वाद
बसन्त पछिको अतिरिक्त बतास
प्रचण्ड पछिको अतिरिक्त उफान
सायद म अर्ध मानव ।

शिखर संगैको अतिरिक्त ढलान
चुचुरो संगैको अतिरिक्त खोँच
साथीसंगीको अतिरिक्त बटुवा
हुनु वा नहुनुको कुनै अर्थ नरहेको
अनेकौको म अतिरिक्त संगत ।

भावनाहरुको अतिरिक्त भाव
ऋचाहरुको अतिरिक्त श्लोक
आख्यान संगैको अतिरिक्त टिपोट
रुखहरूको अतिरिक्त हाँगा
फूलहरुको अतिरिक्त सुगन्ध
अपनाउन सकिने वा बिर्सिए पनि हुने
पच्छाउँदै गरेको अतिरिक्त यात्री ।

गन्तब्य संगैको अतिरिक्त उडान
नदीसंगैको अतिरिक्त भङ्गालो
शान्ति पछिको अतिरिक्त द्वन्द्व
सन्धी संगैको अतिरिक्त सारंश
मिलन पछिको अतिरिक्त मुस्कान
सिङ्गो धरातलको म अतिरिक्त सतिसाल ।

प्रेमिलहरुको अतिरिक्त आशक्तता
मुटुहरूको अतिरिक्त धडकन्
अंगालो संगैको अतिरिक्त कसाव
गजल, मुक्तकका  अतिरिक्त शेर
संगीत संगैको अतिरिक्त झंकार
चाह, चाहना, आरति, आरधना
पुजा, वन्दना, सिर्जना, रचना
भावनै भावनाको बेजोड संगम
एक अर्धमानवको अतिरिक्त गन्थन ।