‘धन्यवाद जापान’ कार्यक्रम भव्यताका साथ सम्पन्न


ह्याप्पी बन्धु बिश्व
जापान
पोहोर साल नेपालमा गएको विनाशकारी भूकम्पले प्रभावित भएका नेपाली जनताका लागि जापान सरकार तथा जापानी नागरिकले गरेको सहयोगका लागि जापानमा रहेका नेपालीहरुले आज (मे २९) धन्यवाद ज्ञापन गरेका छन् |

पूर्व निर्धारित कार्यक्रम अनुसार राजधानी टोक्यो लगायत जापानका विभिन्न शहरहरुमा  भूकम्पको समयमा जापानीहरूले गरेको सहयोगको लागि ‘धन्यवाद जापान’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा जापानका नागरिकलाई बिपद्को बेला गरेको सहयोगको लागि धन्यवाद भन्दै नेपाल घुम्नको लागि निमन्त्रणा पनि गरेका थिए । उक्त कार्यक्रममा अधिकांश नेपालीहरू नेपाली पोशाकमा उपस्थित थिए ।

सो कार्यक्रमलाई जापानका संचार माध्यमहरुले उच्च चासोका साथ समाचार संकलन गरेका थिए । जापानी संचारकर्मीहरुलाई कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले सम्बोधन गर्दै जापानीहरुलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

त्यसै गरी एनआरएनए आईसीसी उपाध्यक्ष भवन भट्टले जापानीहरुलाई भूकम्पपछि नेपालको पुनःनिर्माणबारे जानकारी दिनुहुँदै जापानीहरुलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

एनआरएनए जापानका अध्यक्ष सुदन थापाले दिनुभएको जानकारी अनुसार यो कार्यक्रम जापानभरि ५० स्थानमा सम्पन्न भएको छ |
जापानस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ जापान र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेका हुन् ।