तीन विद्यार्थी बेपत्ता

रत्ननगर (चितवन) वैशाख, २०- पूर्वी चितवनका तीन जना विद्यार्थी तीन दिनदेखि बेपत्ता भएका छन् ।
कालिका नगरपालिका–६, खोलेसिमलका अस्विन धमला, कालिका–६, गुराउचौरका थोमस लामिछाने र कालिका–८, लंकालाईनका राजु गुरुङ बेपत्ता भएको परिवारले जनाएका छन् । स्थानीय सिद्धी विनायक आवासीय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत १४ वर्षीय ती विद्यार्थी विद्यालय जान भनी घरबाट हिँडेका र खोलेसिमल बजारबाट बेपत्ता भएको थोमस लामिछानेको बुबा विवेक लामिछानेले जानकारी दिनुभयो । शुक्रबार घरबाट केही रकमसमेत लिएर स्कुल जाने भन्दै गएका उनीहरुको खोजी कार्य भइरहेको भए पनि फेला पार्न नसकिएको परिवारजनले बताएका छन् । बेपत्ता विद्यार्थीको खोजतलास गरी पाऊँ भनी इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीमा निवेदन दर्ता गरेको विवेकले बताउनुभयो । खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । बेपत्ता विद्यार्थीलाई देख्नु हुने वा भेट्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन प्रहरीले आग्रह गरेको छ । बेपत्ता हुनुका कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस