सीमा रहित ब्याख्या -दीपक विश्वकर्मा (कविता)

सीमा रहित ब्याख्या

दीपक विश्वकर्मा

सुन्दरता आखिरमा सुन्दरता नै हो
सदियौ देखी
किम्बदन्ती बन्दै आएको ।
नल दमयन्तीको कथामा
अदभूत सुन्दरी
दमयन्तीको कथा छ
गुवबकावलीका
तिलस्मी लिखतनामाहरूमा
इतर बासन्तीहरुको उल्लेख छ
अहल्या , माद्री र शैलेश्वरीहरूको मोहकता
पुराणहरुमा वर्णित छ
सुन्दरता एक अद्भूत आख्यान हो
जो जीवनशैली बन्दै आइरहेको छ ।
सिमसिमसिमसिम पानीका बुँदाहरू बीच
कालो बादललाई चिर्दै चम्किने बिजुली
मेघको सुन्दरता हो
विनासक गर्जन सहित
उर्लेर आउने खहरेको गडगडाहट
वर्षातको सुन्दरता हो
शिशिरको उजाड पवनको पतन पछि
पलाइरहेका डालीहरूमा बसेर
गाइरहेको कुहु कुहु
बसन्तको सुन्दरता हो
उन्मत्त भावना
असिमित चाहना,
समर्पण मनको तहसम्म
जीवनको सुन्दरता हो ।
चौतारो सुन्दरता होइन आफैमा
ठिङ्ग उभिएको अजंगको रूख
लहराइरहेका पात
बतासको आवेगसंगै
दिशा मापन गरिहेका डालीहरू
पसिना बगाउँदै आइपुगेको भरिया र
टक्क अडिएर ग्रहण गर्दै गरिरहेको
सितलता,
चौतारोका सुन्दरताहरू हुन् ।
सुन्दरताको रङ्ग हुँदैन सायद
मान्यता त्यही छ आजसम्म
सुन्दरताको आकार हुँदैन
कहावत त्यही छ आजसम्म
र यसैले त सुन्दरताको कुनै ब्याख्या हुँदैन
किनकी यसको कुनै सीमा हुँदैन ।
२०७३ जेष्ठ ७, बुटवल ।