सुस्ताको पीड़ा - मुना धनन्जय



आफ्नै भूगोलभित्र पनि
हराए जस्तो
आफ्नी आमा भएर पनि
मातृत्व नपाए जस्तो
देखें सुस्ता मैले आज
लाग्यो कस्तो कस्तो

छिमेकीको हेपाइ सीमाको मिचाइ
रातदिन सहन गर्दै गर्दे
पीड़ित मलिन अनुहार लिएर
बाँचेको जस्तो
देखें सुस्ता मैले आज
लाग्यो कस्तो कस्तो

नदी किनार छेउ एक्लिएर
दाजुभाइ आफन्तको मायाँ पर्खिएर
आमाको अस्तित्व जोगाइ राखेको
भित्रभित्रै आँसु लुकाई रोएको जस्तो
देखें सुस्ता मैले आज
लाग्यो कस्तो कस्तो

धेरै आए होलान् यहाँ
सुस्ताको मायाँ मान्नेहरू
पोखिरहेछ निरन्तर यसले
आफ्ना कथा औ व्यथाहरू
राष्ट्रियताको बहस केवल बनेको जस्तो
देखें सुस्ता मैले आज
लाग्यो कस्तो कस्तो ।।