परेड डे सफल बनाउन सहयोग गर्ने सबैलाई आनन्द विष्टको धन्यवाद



विश्व व्यापारिक राजधानी शहर न्यूयोर्कमा हिजो मे २२ तारिख पहिलोपटक आयोजित बृहत एवं ऐतिहासिक नेपाल डे परेड भव्यतापूर्वक सम्पन्न भएको छ | यो परेडको प्रमूख आयोजक मध्ये एक भएर यसको समन्वय गर्नु मेरो लागि मात्र नभएर सम्पूर्ण नेपाली जनसम्पर्क समिति,अमेरिकाका लागि गौरवको क्षण भएको छ | म मेरो व्यक्तिगत र सम्पूर्ण नेपाली जनसम्पर्क समिति,अमेरिका परिवार एवं यस नेपाल डे परेड आयोजकको तर्फबाट यो परेड सफल बनाउन जुट्नु हुने सबैप्रति हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्दछु |

यो ऐतिहासिक परेडको सफलताले गरे असम्भव केही हुने रहेनछ भन्ने पुष्टी गरिदिएको छ | इतिहासमा धेरै कम मात्र यस्तो अवसर आउँछ जुन क्षण सम्पूर्ण नेपालीका लागि गौरवको क्षण बन्न सक्छ | एक सामाजिक अभियन्ताको हैसियतले त्यो दिन मे २२ बन्यो भन्नुमा म गौरव गर्दछु | हामीले एउटा प्रयास मात्र ग-यौं, नेपाल र नेपाली पहिचानलाई विश्व मन्चमा चिनाउने तर यो अभियानले यस्तो सन्देश दिएको छ कि राष्ट्र र राष्ट्रियता नै हाम्रा लागि सबैभन्दा प्यारो छ | व्यस्त म्यानहाटनको बीच सडकमा हामीले मातृभूमी नेपालको राष्ट्रिय झण्डा सगौरब फहरायौं र भन्यौं नेपाल | मुलुकको पहिचान भनेको संस्कृति,रीतिरिवाज र परम्परा हो | त्यही पहिचानलाई हामीले हिजोको परेडमा सगौरव प्रस्तुत ग-यौं | नेपाली कला,संस्कृति,भेषभुषा र पहिचान प्रस्तुत गर्दै यहाँहरुले स्वस्फूर्त रुपमा देखाउनु भएको राष्ट्रियताप्रतिको यो गर्विलो एकताका प्रति आयोजकका हैसियतले म नतमस्तक छु |

यहाँहरुको यही सहभागिता र राष्ट्रियताप्रति उर्लेको एकताको भावलाई सम्मान गर्दै न्यूयोर्क शहरका मेयरले मे २२ लाई नेपाल डेको रुपमा न्यूयोर्क शहरले मान्यता दिने घोषणा गरेर यस सम्बन्धमा औपचारिक पत्र समेत प्रदान गर्नु भएको छ | यो घोषणालाई हामीले यहाँहरुको सहभागिताको सम्मानको अर्थमा बुझेका छौं |

परेडमा सहभागी हुने सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, सम्पूर्ण संघ,संस्थाका प्रतिनिधि साथीहरु,प्रत्यक्ष सहभागी हुनु भयका र हुन नसके पनि परेड सफलताको कामना गर्दै प्रोत्साहन गर्ने अमेरिकाका विभिन्न राज्य तथा शहरका शुभेच्छुकजन,सबै मिडियाकर्मी साथीहरु,अहोरात्र खट्ने स्वयम् सेवक साथीहरु,सबै पेशागत एवं व्यवसायी सहयोगदाता मित्र, सेभेन समिटका ग्रान्ड मार्शला पुजना आचार्य र नीम डोमा शेर्पा,परेडका प्रमूख अतिथि राष्ट्र संघस्थित स्थायी नियोगका कार्यवाहक प्रमूख सेवा लम्साल अधिकारीसहित नियोगका प्रतिनिधिहरु,नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यवाहक महा वाणिज्यदूत कृष्ण कुमार सुबेदी एवं महावाणिज्यदूतावास एबम नेपाल मिसनका अन्य सबै प्रतिनिधिहरु, न्युयोर्क शहरका मेयर,जसले नेपालमा गणतन्त्र घोषणा भएको मे २२ तारिखलाई न्यूयोर्कमा नेपाल डेका रुपमा मान्यता दिने घोषणा गरिदिनु भयो,कार्यक्रमका अतिथि न्यूयोर्क शहरका काउन्सिलम्यान डानियल ड्रोम,अतिथिगण,परेडका आयोजक सबै सदस्य र संघ,संस्था सबै सबैलाई हामी एक पटक पुन: मुरीमुरी धन्यवाद व्यक्त गर्दछौं |

आनन्द विष्ट
सह-आयोजक, नेपाल डे परेड २०१६
एवं अध्यक्ष, नेपाली जनसम्पर्क समिति,अमेरिका