लागु औषध गाँजासहित दुई युवा पक्राउ

सर्लाही, जेठ २ – सर्लाहीको हरिवनबाट आइतबार बिहान लागु औषध गाँजासहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिवन नगरपालिका–१ पटौनाका २४ वर्षका होमराज बल र  १६ वर्षका आयुस सिंह मोक्तान रहेका छन् ।प्रहरी सहायक निरीक्षक बहादुरप्रसाद यादवको कमाण्डमा खटिएको गस्ती टोलीले पटौनाबाट हरिवन बजार तर्फ आउँदै गर्दा तीन किलो लागु औषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । तीन वटा कालो झोलामा गाँजा लिएर आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हरिवन प्रहरीले दुवै जनालाई लागु औषध ओसारपसार सम्बन्धी मुद्दा दायर गर्न ईलाका प्रहरी कार्यालय हरिपुर पठाएको छ । पछिल्लो समय सर्लाहीमा लागु औषधको ओसारपसार बढेको छ । एक हप्ता अघि मात्र हरिवनकै ताइवानबाट १० किलो लागु औषध गाँजासहित एक व्यक्ति पक्राउ परेका थिए ।