एउटै ओछ्यानमा सुतेको भन्दै श्रीमती र भाइको हत्या

बुटवल, जेठ ११ - रूपन्देहीमा सोमबार राति एक व्यक्तिले आफ्नै परिवारका दुई सदस्यको हत्या गरेका छन ।

 एउटै ओछ्यानमा सुतेको भन्दै रूपन्देहीको दयानगर–५ चिल्हियाका ५८ वर्षे बलराम पोखरेलले श्रीमती र भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।

बलरामले श्रीमती ४५ वर्षीय कृष्णा पोखरेल र भाइ ४८ वर्षीय चन्द्रकान्त पोखरेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

देवर र भाउजूसँगै सुतेको भन्दै उनीहरु दुवैलाई इँट्टाले हानेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ ।
बलरामले सोमबार राति सवा ९ बजे आफ्नै घरमा इँट्टा प्रहार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा दुवै जनाको राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले घटना भएका बेला तीनैजनाले रक्सी पिएको जनाएको छ । प्रहरीले हत्यामा संलग्न बलरामलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ । रासस