उपप्रधानमन्त्री थापाद्वारा राउन्डटेबल बैठकको सहअध्यक्षता

काठमाडौं जेठ, १२ – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले टर्कीको इस्तान्वुलमा भएको ‘दैवी प्रकोप र जलवायु परिवर्तन, फरक तरिकाले जोखिम र सङ्कटलाई व्यवस्थापन गर्दा’ विषयक उच्चस्तरीय राउन्डटेबल बैठकको सहअध्यक्षता गर्नुभएको छ ।

मंगलबार भएको यो बैठक विश्व मानवीयता शिखर सम्मेलनअन्तर्गतका सातमध्येको एक बैठक थियो ।

त्यसअवसरमा उपप्रधानमन्त्री थापाले गएको वर्ष नेपालले भूकम्पपश्चात उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका क्रममा सिकेका पाठहरु सहभागीबिच प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपालमा राष्ट्रिय अनुकूलन कार्ययोजना, स्थानीय अनुकूलन कार्ययोजना, वातावरणीय नीति तथा कार्यक्रम र उच्चस्तरमा वातावरणीय तथा जलवायु परिवर्तन परिषद् रहेको पनि विश्वका नेताहरुलाई अवगत गराउनुभयो ।

उपप्रधानमन्त्री थापाले नेपालको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि वित्तीय स्रोत, स्थानीयस्तरमा उपयुक्त प्रविधि र नवीन खोजको आवश्यकता हुने पनि बताउनुभयो । उहाँले प्रकोपको पूर्वतयारीका लागि बढी लगानी आवश्यक पर्नेमा पनि जोड दिनुभयो ।

 राउन्ड टेबलको संयोजन गर्नुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले उपप्रधानमन्त्री थापाले सम्बोधन गर्नुभएपछि नेपालले भूकम्प पश्चात गरेको शीघ्र समन्वयात्मक कार्यको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा अन्य सहअध्यक्षमा नाउरुका राष्ट्रपति, केन्याका उपराष्ट्रपति तथा इथियोपियाका उपप्रधानमन्त्री हुनुहुन्थ्यो ।

राउन्ड टेबलमा परराष्ट्र सचिव शङ्करदास वैरागी पनि सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको सीमान्त समयमा उपप्रधानमन्त्री थापाले स्वेडेनका विदेशमन्त्रीसँग भेट गरी द्विपक्षीय सहयोगबारे छलफल गर्नुभएको थियो । रासस