के भन्छन नेजाको नेतृत्व लिन चाहने अध्यक्षका उमेद्वारहरु ?


अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ नेजाको अधिबेशन लस् एञ्जलसमा मे को ७ र ८ तारिखमा हुदैछ | यो अधिबेशनले नयाँ नेतृत्वको चयन समेत गर्नेछ | अधिबेशनको पुर्बसन्ध्यामा अध्यक्ष पदका लागि दुई जनाले आफ्नो उमेद्वारी घोषणा गर्नुभएको छ | उहांहरु गुणराज लुइँटेल र भोला आचार्य  हुनुहुन्छ | लुइँटेल नेजाका संस्थापक कोषाध्यक्ष र आचार्य वर्तमान महासचिव हुनुहुन्छ | उमेद्वारी घोषणा गरेका दुवैजनासंग द नेपाल टुडेले पाच प्रश्न गरेको थियो | हामीले उहाँहरुलाई उक्त प्रश्न लिखित रुपमा पठाएका थियौं | उहांहरु दुवै जनाले लिखित रुपमा नै उत्तर पठाउनु भएको छ | उहाँहरुले दिनु भएको उत्तर जस्ताका तस्तै प्रस्तुत गरेका छौं :



१) नेजाको अध्यक्ष पदमा तपाइको उमेद्वारी किन?

गुणराज लुइँटेल 
नेपाल अमेरिका पत्रकार संघ भनेको अमेरिकामा बस्ने सवै नेपाली पत्रकारहरुको साझा क्लव हो तर आफ्नो लगभग एक दशकको इतिहास पार गर्दा यस संस्थाले कताकता आफ्नो संस्थापनाको उमंग र भावनालाई भुल्दै गएको जस्तो महसूस हुन्छ । अनि हाल पुराना र नयां साथीहरुवीचको समन्वय नभएकोले संस्थालाई आफ्नो उपस्थिति देखाउन पनि हम्मेहम्मे भएको छ । त्यसैले सवै पक्षको ब्यालेन्स मिलाएर लैजान मेरो नेतृत्व जरुरी भएको हो ।

भोला आचार्य
मर्यादाक्रममा रहेको, कार्यसमितिका साथीहरू सल्लाहकार र साधारण सदस्यहरूको अनुरोधमा आएको जिम्मेवारी पुरा गर्न । संस्थालाई मर्यादित र व्यवसायीक वनाउन । र पेशागत हकहीतमा संस्थालाई अगाडी बढाउनका लागि मेरो उमेद्वारी हो ।

२) अध्यक्ष भएपछि तपाईले गर्ने कामहरु के-के हुन् ?

गुणराज लुइँटेल 
सवै साथीहरुवीचको एकतामा जोड दिन्छु, ब्यालेन्स मिलाएर पुराना तथा नयां साथीहरुलाई जिम्मेवारी दिन, नेजामा पुनर्ताजगी ल्याएर सवै साथीहरुवीच पूर्ण एकताको वातावरण सिर्जना गर्न, हाम्रो सामुदायिक पत्रकारितालाई अमेरिकाको मूल नागरिक पत्रकारिताको प्रवाहमा लैजान र नेपाली पत्रकारिता एवं पत्रकारहरुसंग गाढा भाईचारा बढाउन, नेपाल र नेपाली पहिचानलाई संचारको माध्यमबाट पाश्चात्य समाजमा चिनाउन केही विशुद्ध नयां र प्रशंसा गर्न योग्य योजना सहित अगाडि बढेको छु ।

भोला आचार्य  
संस्थालाई राष्ट्रीय, अन्तराष्ट्रीय पेशागत संघ संगठनहरूसँग सम्वन्ध गॉस्ने र साझेदारीमा काम गर्ने । संस्थाको कोष अभिवृद्धि गर्न अमेरिकी सरकारका निकायसँग अनुरोध गर्ने । र, पुरस्कार र पत्रकारीता सम्वन्धी सीपमुलक तालीमको बिकास विस्तारमा जोड़ ।


३) मतदाता पत्रकारहरुले तपाईलाई मतदान गर्ने कारण ?

गुणराज लुइँटेल 
म संग अघिल्लो पुस्ता र पछिल्लो पुस्ता दुवैलाई समन्वय गर्न सक्ने क्षमता र योजनाहरु छन् । म संस्थाको स्थापना कालको कार्यसमितिमा पनि रहेको हुंदा संस्था चलाउने धेरै अनुभव छ । सर्वसम्मत नेतृत्व निर्माण गर्न मैले पटक पटक संस्थामा योगदान पुर्याउदै आएको छु र पछि पनि गर्ने छु । अमेरिका बसाइका १५ वर्षहरु पार गर्दै जांदा म संग स्वदेश र विदेशका धेरै अनुभवहरु छन् । संघर्षशीय अमेरिकी जीवनको लामो यात्रा पछि हाल यहां तुलनात्कम रुपमा म संग स्रोत, समय, अनुभव पनि भएकोले धेरै काम गर्न सक्छु भन्ने विश्वास छ । त्यसैले धेरै साथीहरुले म प्रति सकारात्मक रुपमा धेरै आशा राख्नु भएको छ ।

भोला आचार्य
बिगतको कार्यकालमा मैले खेलेको भूमिकाको आधारमा । पत्रकारीतामा अध्ययन र दशकलामो अनुभवको आधारमा । र वर्तमान अवस्थामा पनी सकृय पत्रकारीतामा लागेको आधारमा ।


४) अध्यक्षमा अन्य उमेद्वारको नाम पनि आएको छ र उहाँको बारेमा तपाईको भन्नु केहि छ ?

गुणराज लुइँटेल
हो हाल अध्यक्षको उम्मेदवारी दिएका मेरा प्रत्यासी भोला आचार्य मेरो नजिका प्रिय साथी हुन । पछिल्लो पुस्ताका सशक्त पत्रकार भएकोले म मायांले भाई भनेर सम्बोधन गर्छु उनलाई । उनको जोश, जांगर, प्रतिवद्धता र संगठन कौशलताबाट म धेरै प्रभावित भएको छु । उनले महासचिवको जिम्मेदारी राम्ररी संचालन गरिसकेका छन र उनी आशालाग्दा ब्यक्ति हुन भन्ने मलाई लाग्दछ । तर हामी जो जसरी चुनावमा आएता पनि सर्वसम्मतिको बाटो अपनाउनु हामी सवैको र संस्थाको हितमा छ भन्ने मलाई लाग्दछ ।

भोला आचार्य 
मैले झै अरूले पनि इच्छा राख्न पाउनुपर्दछ । संस्थालाई अहिले कस्को आवश्यकता छ भन्ने मतदाताको कुरा हो ।

५) निर्बिरोध नेतृत्व चयन हुने सम्भावना कत्तिको छ ?

गुणराज लुइँटेल
म त धेरै नै आशाबादी छु । यस्तै बेलामा हो हामीले आफ्नो बल, बुद्धि र क्षमता लगाएर सवै पत्रकारहरुको हितमा अगाडि बढ्ने । तर यदि कुनै परिस्थितिले चुनाव भइहाल्यो भने पनि हामीले परिणामलाई स्वभाविक प्रजातान्त्रिक अभ्यासको रुपमा लिएर अगाडि बढ्नु पर्दछ । फूटाउने टुटाउने जस्ता कुराहरुले हामीलाई नै कमजोर बनाउछ ।

भोला आचार्य
म सधै सहमतीको पक्षमा छु तर सहमती संस्थाको सर्वोपरी हीत, दक्षता, क्षमता र सकृयताको आधारमा हुनु पर्दछ ।

,