संस्थालाई व्यवसायिक बनाउनु मुख्यकुरा हो -भोला आचार्य,अध्यक्ष, नेजा


भोला आचार्य अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेजाका अध्यक्ष हुनुहुन्छ | नेजाको हालै सम्पन्न अधिबेशनबाट सर्बसम्मत अध्यक्ष बन्न सफल आचार्य निबर्तमान कार्य समितिको महासचिव हुनुहुन्थ्यो | नेपालदेखि नै पत्रकारिता गरेको लामो अनुभव भएका आचार्य सेतोपाटी डटकममा समेत संलग्न हुनुहुन्छ | अमेरिकाको न्यु योर्कमा बसोबास गर्दै आउनु भएका आचार्यसंग नेजामा उहाँको बिजय र भावी योजनाका बिषयमा केन्द्रित रहेर द नेपाल टुडेका सतिश चापागाईंले गरेको कुराकानी प्रस्तुत छ :   

अमेरिकामा रहेका पत्रकारहरुको संस्था नेजाको नेतृत्व लिन पाउदा कस्तो महशुस भएको छ ?

गत मे ७ र ८ मा आयोजित १० औ साधारण सभा तथा पाँचौ अधिबेशनबाट मलाई नेतृत्वमा सर्वसम्मतरुपमा चयन गरिएकोमा निकै खुशी छु । हाल १ सय ४८ जना सदस्यहरु रहेको नेजाले पहिलो पटक सबै पदाधिकारीहरु सर्वसम्मतरुपमा चयन गरेको छ जसमा आफुलाई नेतृत्वमा पाउँदा गौरवको महसुस गरेको छु । खुशी हुनुका साथै जिम्मेवारी पनि थपिएको महसुश गरेको छु । आशा छ, सवैको यसमा साथ रहने छ ।

 कति सजिलो थियो यहाँसम्म आईपुग्न ?

 टेक्सासको हुष्टनमा अघिल्लो पटक महासचिवमा मलाई सर्बसम्मत नै चयन गरिएको थियो । निर्वाचनमा असन्तुष्ट हुदै न्युयोर्कका केहि साथीहरुले नेजामा संलग्न नरहेको वताएपछि आफुपनि न्युयोर्कमा नै वस्ने भएपछि जोखिम देखिन्थ्यो । तर त्यो चुनौतीलाई मैले अवसरको रुपमा लिएँ । उहाँहरुसँग लगातार सहयोगको अपेक्षा गरिरहेपनि नेतृत्वसँग उहाँहरुको टसलका कारण भनेजति सजिलो भएन । कहिलेकाँही त साथीहरु नेजाप्रति नै नकारात्मक भएको पाँउदा सस्थाको संलग्नता वेकार जस्तो लाग्थ्यो ।  उहाँहरु र संस्थाबीच केहि विवाद देखिएपनि कार्यसमितिले आफ्नो कार्यकाललाई सफल अवतरण गरेको भन्नुपर्छ ।

अमेरिकामा निर्वाचन भएपछि पनि हारजीत स्वीकार नगर्ने वातावरण छ, तपाईहरुले निर्विरोध रुपमा नेतृत्व चयन गर्नुभयो, कसरी ?

तपाईले उठाएको प्रश्नको उत्तर सजिलो छैन । सहमति नहुदा निर्वाचन बैकल्पिक प्रजातान्त्रिक प्रक्रिया मानिन्छ । तर अघिल्लो पटक निर्वाचनको परिणामपछि असहज वातावरण वन्न पुग्यो । निर्वाचन लगत्तै केहि साथीहरु नेजाबाट अलग भएको कुरा गरे । निर्वाचनले एक डेढ सय सदस्यहरु भएको संस्थालाई संस्थागत गर्ने भन्दा विभाजित गरेको धेरै साथीहरुको वुझाई रह्यो । यसको पृष्ठभूमिमा सहमतिबाट जाने प्रयास भयो र सवैसाथीहरुले यसलाई गहनरुपमा लिदै नेतृत्वलगयात सवै पदहरु सर्वसम्मतिबाटै चुनिए त्यो पनि पहिलो पटक । अब यसले विगतका विवादको अन्त्य गर्दै सवैलाई संगठनको छाताभित्र गोलवद्ध हुने वातावरण निर्माण गर्नेछ भन्ने मैले विश्वास गरेको छु ।

नेजाका आगामी योजनाहरु के के छन् ?

नेजाको पहिलो योजना अन्तर्गत विगतका समस्याहरुको समाधान गर्ने भन्ने हुन्छ । जसमा अघिल्लो पटकको निर्वाचनपश्चात नेजाबाट वाहिरिएको भनेर नसमेटिएका साथीहरुलाई समेट्ने प्रयास हुनेछ । त्यसपछि संगठनलाई थप विस्तार र व्यवसायिक बनाउन नेपालमा छँदा पत्रकारितामा दक्षता हाँसिल गरेका हाल अमेरिका रहेका उत्तर अमेरिका क्यानडा लगायत पत्रकारहरुलाई समेटदै अमेरिकामै पत्रकारिताको पेशामा संलग्न नयाँ पीढिलाई सहभागि गराउने अर्को प्रयास हुनेछ । अहिलेको जोखिम भनेको नयाँ पीढि जो अमेरिकामा रहेर यहाँको मुलाप्रबाहको मिडियामा अध्ययन र काम गरिरहेका छन्, उनीहरुलाई भित्र्याउनु हो । संगठनको व्यवसायिक हैसियत नहुन्जेल उनीहरुको सहभागिता सम्भव छैन | त्यसैले, नेजालाई अन्तराष्ट्रिय पेशागत सन्जालसँग जोड्नु अहिलेको आवश्यकता देखिन्छ । र, नेजाका गतिविधिहरुमा नेपालीभन्दा अन्तराष्ट्रिय मिडियाको पहुँच हामीले निर्मांण गर्नुपर्ने देखिन्छ । वाँकी संस्थाको आर्थिक कोष अभिवृद्धि गर्दै हाल नेपाल स्थित पत्रकारहरुको छाता संगठनसँग मिलेर गरिरहेका कामहरु जस्तै पुरस्कारको व्यवस्थापन, आर्थिक सहयोग, सिपमुलक तालिम लगायतका कुराहरुलाई थप विस्तार गर्नुपर्ने हाम्रा योजनाहरु छन् । मुख्यकुरा संस्थालाई व्यवसायिक वनाउनुपर्ने हो भन्ने मलाई लाग्दछ ।

सबै पत्रकारहरु समेट्न नसकेको आरोप छ नी नेजालाई ? तपाईले समेट्नु हुन्छ ?

नेजा पेशाकर्मी सवैको साझा संगठन हो, यदि हुन सकेको छैन भने गराउनुपर्छ । प्रवासको जीवन भनेजति सजिलो छैन | केहि साथीहरुलाई घरपरिवारको पीरलोले संस्थामा समय दिन गाह्रो भैरहेको पाईन्छ । तर संस्थाप्रति आवद्ध हुन चाहनेहरुका लागि संस्थाले आकर्षक कार्यक्रमहरु दिन नसक्नु नै हो । विशेषगरि नेतृत्वले संस्थामा रहेका सम्पूर्ण सदस्यहरुको भावना वुझ्नुपर्ने हुन्छ । कहिलेकाही संस्थाप्रति सदस्यहरुका पनि निहित स्वार्थले काम गर्दा अप्ठ्यारो वनाईदिएको हुन्छ । मेरो नेतृत्वबाट संस्थामा आवद्ध हुन चाहने पेशाकर्मीहरुको लागि सधै साथ र समर्थन रहने विश्वास दिलाउन चाहन्छु । र, नेजाबाट वाहिरिएका साथीहरुलाई भित्र्याउने मेरो नेतृत्वको कार्यसमितिको पहिलो योजना रहेको छ, जसको लागि हामी अगाडी  बढिसकेका छौं ।

 चुनाव जित्न नक्कली पत्रकारहरु घुसाउने परम्पराले सक्कली पत्रकारहरु निरुत्साहित भएको भनिन्छ, तपाईलाई के लाग्दछ ?

पत्रकार सक्कली र नक्कली भन्ने हुदैन । उसको कर्म कति सक्कली र नक्कली छ भन्ने हो । पत्रकारितामा खासै नचिनिने बढि साहित्य र कलाक्षेत्रका केहि व्यक्तिहरुले हिजोदेखी नै सदस्यता लिईसकेका रहेछन् । तर यसको मतलव नेजामा व्यवसायिक पत्रकारहरु छैनन भन्ने होईन् । सन् २००७ सालमा गठित यो संस्थाले शुरुमा संगठन विस्तार गर्नुपर्ने अवस्थाले तपाईले भनेजस्तो नक्कली पत्रकारहरु छिरेको हुनुपर्छ । पछिल्लो पटकको सदस्यता वितरणमा म आफै संयोजकको भूमिकामा थिए । मैले व्यवसायिक पत्रकारहरुलाई आफैले व्यक्तिगतरुपमा फोन गरेर सदस्यता लिन र नविकरण गर्नको लागि अनुरोध गरेको थिए । जसमा हामी धेरै सफल भएका थियौं । हिजोसम्म नसमेटिएका व्यवसायिक नामहरु अहिले समेटिएका छन् । जसमा केहि नेपालमा पत्रकारिता नगरेका तर अमेरिकामा अध्ययन गरिरहेका र पेशामा लाग्न चाहने साथीहरु हुनुहुन्छ, जसलाई नक्कली भन्न मिल्दैन । हामीले तयार गरेका १ सय ४८ जनाको प्रोफाईल हामीसँग रेकर्ड छ कि कुन पत्रकार कुन मिडियामा संलग्न छ भन्ने कुरा । यसप्रकारको रेकर्ड हिजोसम्म थिएन । फेरी पत्रकारिता भनेको निरन्तरता हो । तपाईको पेशाप्रति ग्याप धेरै भयोभने पनि पुरानो हुँ भनेर मात्र हुदैन । जहाँसम्म नयाँको कुरा छ, अहिलेको युग नागरिक पत्रकारितासम्म पुगेको छ । प्रविधिसँग नजिक रहेको अहिलेको पत्रकारिताको युगमा पुराना भन्दा नयाँ नै बजारमा देखिन्छन् । यसको मतलव यो होइन कि पुरानाको काम छैन । नयाँभन्दा पुरानामै पत्रकारिताको आधारभूत सिद्धान्तको ज्ञान र पेशालाई मर्यादित बनाउने क्षमता छ । नेजामा नयाँ पुराना दुवैको समिश्रण भएकोले यसमा धेरै चिन्ता गर्नुपर्दैन् । अन्त्यमा, तपाईले भनेजस्तो संस्थालाई बढि मर्यादित र पेशाकर्मीहरुको संस्था बनाउनको लागि सदस्यता बितरणमा आवश्यक कडिको जरुरी छ ।

आफ्नो कार्यकालमा पत्रकारहरुको हक र हीतमा के गर्न सकिन्छ भन्ने लाग्दछ ?

नेजा पत्रकारहरुको हक हितको लागि खोलिएको संगठन हो । म आफै पत्रकारिताको विद्यार्थी भएकोले मैले यसलाई कसरी पेशागतरुपमा अगाडी बढाउन सकिन्छ भनेर कोशिस गर्नेछु । मेरो पनि यस क्षेत्रमा दशक लामो अनुभव छ । मैले यो पेशावाहेक जीवनमा अरु गरेको छैन् । अमेरिकामा आईसकेपछि पनि म पत्रकारिताबाट अलग छैन । मेरो रगतमा यो पेशा बगेकोले संस्थालाई पत्रकारहरुको हकहितमा काम गर्ने मेरो पहिलो रोजाई हो । त्यसवाहेक प्रवासको नेपाली समुदायको अस्तित्वसँग जोडिएको नेजालाई समुदायसँगै पेशाकर्मीहरुको हकहितमा लगाउनुपर्छ भन्ने मेरो पनि विश्वास हो । नेजामा आवद्ध सबै सदस्यहरु पत्रकारिता र पत्रकारहरुको हकहितप्रति नै गम्भिर छौ भन्ने लाग्छ । नेजाले नेपाली पत्रकारहरुको भूमिकालाई अन्तराष्ट्रियस्तरमा पहुँच पुर्याउने पुलको रुपमा काम गर्नेछ । यसका लागि नयाँ कार्यसमितिले केहि योजनाहरु पक्कै लिएर आउनेछ । केहि समय पर्खन सबैसंग आग्रह गर्दछु |