आर्थिक वर्ष ०७३/७४ को बजेट सन्तुलित : चेम्बर

काठमाडौं जेठ, १८–नेपाल चेम्बर अर्फ कमर्सले आगामी आर्थिक वर्ष ०७३/७४ को बजेट सन्तुलित भएको जनाएको छ । बजेट कार्यान्वयन पक्ष जटिल भएकाले निजी क्षेत्रको सहकार्य आवश्यक भएको उसको धारणा छ । सरकारले पहिलोपटक औद्योगिक क्षेत्र, विकास आयोजना, राजमार्ग र  सार्वजनिक निकायलाई बन्द, हड्ताल निषेधित क्षेत्र घोषणा गरेकामा चेम्बरले स्वागत गरेकोे छ । “बन्द, हड्ताल गर्ने, आवागमन र आयोजनाको काममा बाधा उत्पन्न गर्ने र भौतिक सम्पत्तिमा क्षति पु¥याउने आयोजकबाट क्षतिपूर्ति भराइने व्यवस्थालाई चेम्बर स्वागत गर्छ,” चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । केन्द्रीय राजस्व बोर्ड गठन गर्ने घोषणाले व्यवसायी उत्साही रहेको उसको धारणा छ । आयकरको सीमा वृद्धि गरी व्यक्तिको हकमा २ लाख ५० हजारबाट वृद्धि गरी ३ लाख ५० हजार र दम्पतीको हकमा ३ लाखबाट बढाएर ४ लाख पु¥याउनु परिवारको संख्याको आधारमा अझै अपर्याप्त रहेको चेम्बरले जनाएको छ । ऊर्जा संकट निवारणका लागि लोडसेडिङ मुक्त बनाउने र उद्योगहरूलाई डेडिकेटेड फिडरबाट विद्युत् उपलब्ध गराउने घोषणालाई चेम्बरले सकारात्मक भनेकोे छ । नेपाललाई आकर्षक लगानी गन्तव्यको रूपमा विकास गर्न नीतिगत र कानुनी सुधार गर्न जनाइएको प्रतिबद्धता अविलम्ब कार्यान्वयन गर्न चेम्बरले माग गरेको छ । आपूर्ति व्यवस्थामा आएको अवरोधका कारण ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भएका उद्योगहरूले बुझाउनु पर्ने विद्युत् डिमान्ड शुल्क छुट दिने व्यवस्थालाई चेम्बरले सकारात्मक रूपमा लिएको छ ।