सोनाक्षी र मलाइका टुँडिखेलमा

काठमाडौं, जेठ १ – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र आइटम गर्ल मलाइका अरोरा खानले शनिबार काडमाडौंको टुँडिखेलमा आफ्नो प्रस्तुति देखाउँदैछन् । सोनाक्षी र मलाइकाले दिउँसो टुँडिखेलमा हुने अमरपक्षी नामको कन्सर्टमा नेपाली दर्शकलाई आफ्नो प्रस्तुतिद्वारा मनोरञ्जन प्रदान गर्न लागेका हुन् । गएको वर्षको वैशाखमा आएको भूकम्पबाट पीडित भएकाको सहयोगका लागि सैनिक श्रीमती संघको आयोजनामा हुन लागेको कन्सर्टमा सहभागी हुन अभिनेत्री सिंहा र खान शुक्रबार नै काठमाडौं आइसकेका छन् । सोनाक्षी सिंहाको यो पहिलो नेपाल भ्रमण हो । उनले शुक्रबार नेपाल आउनु केही समय अघि नेपाली दर्शकलाई सम्बोधन गरेर ट्वीट गरेकी थिइन् । उनले ट्वीटमा लेट्स डान्स ह्यासट्याग टुगेटर फर नेपाल उल्लेख गरेकी थिइन् । कार्यक्रममा सोनाक्षी र मलाइकाले हिन्दी चलचित्रका गीतमा नृत्य प्रस्तुत गर्ने छन् । कार्यक्रममा सोनाक्षी र मलाइकासँगै नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की तथा गायिका इन्दिरा जोशीको पनि प्रस्तुति रहेको सैनिक श्रीमती संघले जनाएको छ ।

,