बाढीमा बगेर दुई बालकको मृत्यु

धनगढी जेठ, १२-बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्र रुगिन गाविस–६ कवाडी गाउँमा अविरल वर्षापछि आएको बाढीको भेलमा बगेर स्थानीय दुई बालकको आज मृत्यु भएको छ । वर्षासँगै स्थानीय खोलामा आएको भेल घरभित्र पसेपछि अत्तालिएका दुई बालक घरबाट हाम फाल्ने क्रममा भेलमा बगेर मृत्यु भएको बजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले राससलाई बताउनुभयो । आज बिहान ४ बजेको समयमा भएको उक्त घटनामा परी कवाडी गाउँका चन्द्रबहादुर बुढथापाका १० वर्षीय छोरा निखिल बुढथापा र छ वर्षीय दीर्घ बुढथापाको भेलमा बगेर ज्यान गएको हो । गाउँका अन्य घरमा समेत बाढीको भेल पस्दा सात जना घाइते भएका छन् । घाइते हुनेमा कवाडी गाउँका नौरता भण्डारी, छमकला बुढथापा, मन बुढथापा, मोहन सुनार, रबुली बुढथापा, कुसुमकला बुढथापा र अम्बकला बुढथापा छन् । घाइतेको रुगिन स्वास्थ्य चौकीबाट गएको स्वास्थ्यकर्मीको टोलीले घटनास्थलमै उपचार गरिरहेको जनाइएको छ । घटनामा विभिन्न परिवारले पालिराखेका ३७ चौपायसमेत मरेका छन् । गाउँमा पसेको बाढीको भेलका कारण स्थानीय १६ परिवारको घरमा पूर्ण क्षति पुगेको छ । ६३ घरमा आंशिक क्षति पुगेको छ । सञ्चार सम्पर्क हुन नसकेको र भौगोलिक रुपमा विकटसमेत रहेका कारण क्षतिको पूर्ण विवरण आइनसकेको बताइएको छ । घटनापछि आजै बाजुराको बिछिया प्रहरी चौकी, पुन्न प्रहरी चौकी कोल्टीबिसुगाड प्रहरी चौकी र हुम्लाको महिला कवाडी प्रहरी चौकीबाट प्रहरी टोली खटिइ उद्धारमा जुटेको बताइएको छ । बाजुराको सदरमुकाम मार्तडीबाट तीन दिनको पैदल दूरीमा उत्तर–पूर्व क्षेत्रमा पर्ने घटना स्थलमा राहत सामग्री लिएर टोली जान लागेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । रासस