उत्तराखण्डको जंगलमा लागेको आगो निभाउन ३ वटा हेलिकोप्टर

एजेन्सी वैशाख. २०-जंगलमा लागेको आगो नियन्त्रण भन्दा बाहिर गएपछि भारतको उत्तराखण्ड सरकारले आगो निभाउन हेलिकोप्टरको प्रयोग गर्न थालेको छ । तीन वटा हेलकोप्टरमार्फत आगो  निभाउने प्रयास भएको  भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय प्रशासनले आवश्यक परे थप हेलिकोप्टरको पनि व्यवस्था गर्ने जनाएको छ । यस्तै आगलागी नियन्त्रण गर्न स्थानीय प्रहरी, वन अधिकारी, स्वंयसेवी, राष्ट्रिय विपद् रेस्पोन्स फोर्स लगायतका झण्डै ६ हजार जनालाई खटाइएको छ । उत्तराखण्डमा लागेको आगो नियन्त्रण गर्नेबारे केन्द्र सरकारले चार सदस्यीय टोली पनि त्यहाँ पठाएको जनाएको छ । यो टोलीले एक हप्ताभित्र आगलागीको सम्पूर्ण विवरण गृह मन्त्रालयलाई बुझाउने छ । उत्तराखण्डमा गएको हप्तादेखि आगलागीका घटना बढेका छन् । त्यहाँको दुई हजार दुई सय ६९ हेक्टर क्षेत्रफल आगोको चपेटामा परेको खबरमा उल्लेख छ ।