नेपाली झन्डा गाडेर पानी जहाज चलाउछौँ - प्रधानमन्त्री ओली



 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले आफ्नै पानी जहाज चलाउने र नेपालको झन्डा फहराउदै हिड्ने घोषणा गरेका छन् ।

चीनसँग कुन बन्दरगाह चलाउने भन्ने निर्णय नभएको उल्लेख गर्दै काठमाडौंमा मंगलबार पार्टीनिकट महिला संघको कार्यक्रममा उनले नेपाली पानी जहाज चलाउने घोष्णा गरेका हुन् ।

"पानीजहाज प्रयोग भएको बन्दरगाह प्रयोग गर्नेमात्र होइन, नेपालले आफ्नो पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउनु हुँदैन भन्ने केही छैन," आफ्नै पानी जहाज किन्ने बताउँदै उनले भने, "आफ्नो पानी जहाजमा सामान ल्याउँछौ, आफ्नो रेल तीन दिनमा काठमाडौं आइपुग्छ ।"

उनले समुद्रमा नेपाली झण्डाअंकित पानी जहाज चलाउने उल्लेख गरे । ‘हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानी जहाज चल्छन्, अरुले गाड्छन् गाड्दैनन् थाहा छैन हामी गाड्छौं,’ उनले भने, ‘पानी भएपछि पानी जहाज चलाउन किन नहुने के छ ?

प्रधानमन्त्रीले आफ्ना नविनतम सोच अघि सार्दा विपक्षीहरुले कुरा काटेर समय बिताएको बताए । ‘ छक्क पर्छन् सुन्दा । यो भन्दा टाढा टाढा रेल कुदेका छन् कि छैनन् ? अलिकति समय पर्खनुस्,’ उनले भने, ‘नेपालमा सोच्ने विचार गर्नेभन्दा अगाडिको भागमात्रै हेर्ने चलन भएको ठाउँमा अलिकति नयाँ कुरा गर्यो भने अनौठो हुन्छ ।’

प्रधानमन्त्रीले आफूले भारत भ्रमणमा गरेका ब्यापार सम्झौता रणनीतिक भएको पनि बताए । ‘मैले कोलकातामात्र होइन, बिशाखापट्नममा पनि किन नाका खोलाएँ, त्यो मान्छेले पछि थाहा पाउँछन्,’ उनले भने, ‘हल्दिया नाकाबाट हिंडेका गाडीहरु बीरगन्ज आइपुगेका छन्, काठमाडौंका लागि हिंडेको रेल सिगाच्छेमामा आएर रोकिएको छ ।’

काम गर्दा विपक्षीको निंदहराम

प्रधानमन्त्रीले आफूले राष्ट्रिय स्वाधिनता र विकासको काम तीब्र अगाडि बढाउँदै विपक्षीहरुको निंदहराम भएको बताए । ‘सरकार अगाडि बढिरहेको छ, कसैको न दिनमा, न रातमा निंदहराम भएको छ,’ उनले भने, ‘कतै कुनाकाप्ची देखियो भने सरकार ढाल्न माकुराले जालो लगाएजसरी लगाइरहेका छन्, तर सरकार काममा अगाडि जान्छ ।’

फास्ट ट्रयाकसहित केही रणनीतिक आयोजनाहरु नेपाली आफैले निर्माण गर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘कतार बनाएकै नेपालीले हो, मलेसिया नेपालीले बनाए, हङकङका अचम्मका विकास नेपालीले गर्न सक्छ भने यहाँ किन गर्न सक्दैन ?,’ उनको प्रश्न थियो ।

नीति तथा कार्यक्रममा विपक्षीले बोल्ने नै ठाउँ नपाएको बताए । ‘कहिले पुरानै हो भन्छ कहिले नयाँ भन्छ विरोधाभासका कुरा हुन्छन्,’ उनले भने ।

प्रधानमन्त्रीले सरकारले भूकम्पपछिको पुनर्निर्माण तीब्र बनाउने उल्लेख गर्दै आगामी जेठ ७ गतेदेखि १५ गतेसम्म सरकारको संयोजनमा पुनर्निर्माण कार्य अगाडि बढाइने बताए ।

पार्टीभित्रै किन निहुँ खोजिन्छ ?
प्रधानमन्त्री ओलीले सरकार आफ्ना खास उद्देश्यहरु साथ अघि बढेको र सार्वभौमसत्तालाई राष्ट्रको यथार्थ धरातलमा उभ्याइरहेको अवस्थामा पनि पार्टीभित्र गुट उपगुट बढेको भन्दै असन्तुष्टि जनाए ।

‘यतिबेला पनि एमालेको नेतृत्वमा देश यसरी अगाडि बढिरहेकाबेला, एमाले भएकोमा केही गर्व गर्दैन भने, गुट गर्छ, यो गुट र त्यो गुट भन्छ भने ठीक भएन,’ उनले भने, ‘त्यो त विरोधीलाई छाडिदिनुस् न, विपक्षीलाई छाडिदिनुस् न । आफ्नै पार्टीका मान्छेले यो निहुँ निकालेको छ, खोंचे थापेको छ, विभिन्न प्रकारका गुटबन्दी गरेको छ यो शोभनिय हुन्छ ?’

प्रधानमन्त्रीले आफू संसदीय दलको नेता र पार्टी अध्यक्ष भएपछि सबैखाले उपलब्धी हात परेको बताए । ‘राष्ट्रको स्वभाविमान जसरी बढाइएको छ, यो साधारण कुरा हो ? यत्रा उपलब्धी हासिल गरिएको छ यो साधारण हो ?,’ उनले भने, ‘म दलको नेता, पार्टीको अध्यक्ष भएपछि नेतृत्वको हिसावले संविधान बनाइएको छ, सरकार बनाइएको छ, राष्ट्रपति बनाइएको छ, सभामुख, उपराष्ट्रपति उपसभामुम बनाइएको छ, पार्टीले जसलाई भनेको छ त्यसैलाई बनाइएको छ ।’

एमाले अध्यक्षसमेत रहेका ओलीले आफू कसैलाई भेदभाव गर्ने पक्षमा नभएको बताएको कान्तिपुरमा समाचार छ |