ओली सरकार आफैं गिर्छ : कोईराला



 नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले हिन्दू राष्ट्र, प्रदेशको सीमाङ्कन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताएका छन् ।

दाङमा शुक्रबार आयोजित कार्यक्रममा कोइरालाले जनताले चाहेमा सबै कुरा परिवर्तन हुने बताए । अहिलेको संविधान परिवर्तनीय भएकाले विवादित कुरालाई जनताले टुङ्गो लगाउन पाउनुपर्ने कोईरालाको भनाइ थियो ।

“असी प्रतिशत हिन्दू भएको देशलाई धर्मनिरपेक्ष कसरी घोषणा गर्न सकिन्छ, यसले पछि द्वन्द्व निम्त्याउने खतरा हुन्छ, यसलाई समयमै जनमत सङ्ग्रह वा जनताको भावनाअनुसार निर्णय गर्नुपर्छ”, कोईरालाको भनाइ थियो ।

अतिवादी शक्ति विभिन्न बहानामा अस्थिरता निम्त्याउन लागेको भन्दै त्यसो हुन नदिन पनि बेलैमा समस्याको समाधान गर्नतर्फ दलहरु लाग्नुपर्ने उनको तर्क थियो ।

त्यस्तै, उनले ओली सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरे । उनले काँग्रेस सरकार गिराउने खेलमा नलाग्ने भन्दै रचनात्मक प्रतिपक्षको भूमिका आफूहरुले खेल्ने बताए । “सरकार गिराउने खेलमा काँग्रेस लागेको छैन, यो सरकार आफैँ गिर्छ, कसैले गिराउनु पर्दैन”, कोईरालाले ठोकुवा गरे ।