पत्रकार कनकमणि दीक्षित थुनामुक्त गर्न आदेश

काठमाडौं वैशाख, २० – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अख्तियारले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै दीक्षितकी पत्नीले गत बुधबार सर्वोच्चमा हालेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले उहाँलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्षको हैसितमा अकुत सम्पत्ति कमाएको अभियोगमा पक्राउ परेका उहाँलाई अख्तियारले विशेष अदालतबाट १० दिन थुनामा राख्ने अनुमति लिएर हिरासत राखेको थियो । तर पक्राउ परेको भोलिपल्ट वैशाख ११ गते विरामी परेपछि दीक्षित वीर अस्पतालमा भर्ना हुनु भएको थियो । दीक्षितले भने अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले व्यक्तिगत रिसइवीको कारण आफूलाई झुटो आरोप लगाएर पक्राउ गरेको बताउँदै आउनु भएको छ ।