बजेट चुहावटका विषयमा छानविन समिति गठन गर्ने तयारी

काठमाडौं जेठ, १८

बजेट सार्वजनिक हुनु अगाडि नै चुहावट भएको भन्दै प्रमुख प्रतिपक्ष दलले छानविन समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरेपछि सरकार छानविन समिति गठन गर्न तयार भएको छ।

मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता  साझेदार दलको बैठकले कांग्रेसले उठाएको माग सम्वोधन गर्न आवश्यक परे छानविन समिति गठन गर्न तयार हुनुपर्ने निष्कर्ष निकालेको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए।

बजेट सार्वजनिक हुनु एक दिन अगाडि नागरिक दैनिकले बजेटको आकारको विषयमा समाचार प्रकाशित गरेको थियो। कांग्रेसले सोही विषयलाई बजेट चुहावट गरेको भन्दै छानविन समिति बनाउन माग गर्दै सोमबार चार पटकसम्म संसद बैठक अबरुद्ध गरेको थियो।

बैठकको सुरुमा बोल्दै पूर्वअर्थमन्त्री  एवं कांग्रेस नेता  रामशरण महतले नागरिक दैनिकमा प्रकाशित समाचार वाचन गर्दै बजेट चुहावटको विषयमा छानविन गर्न माग गरेका थिए ।  कांग्रेसले छानविन समिति गठन भएसम्म मंगलबार बस्ने व्यवस्थापिका संसद पनि चल्न नदिने रणनीति बनाएपछि प्रधानमन्त्री केपी ओलीले मंगलबार विहान सत्तासाझेदार दलको बैठक बोलाएका थिए।

बैठकले कांग्रेले उठाएको मागको विषयमा अर्थमन्त्रीले संसदमा जवाफ दिने र त्यसमा कांग्रेस सहमत नभए छानविन समिति बनाउने निर्णय गरेको थियो। ‘विगतमा पनि बजेट चुहावत भएका घटना छन,’ एमाले नेता खनालले ,‘अहिले जसले बढी विरोध गर्नु भएको छ, उहाँकै पालमा पनि बजेट चुहावट भएको छ। त्यसैले यसलाई ठूलो मुद्दा बनाउनु हुँदैन।’ उनले कांग्रेसको उठाएको माग पूरा गरी आजै संसद बैठक सुचारु हुने जनाए।

दलहरुबीच सहमतिको प्रयास जारी रहेको भन्दै आज ११ बजे बोलाइएको संसद बैठक एक बजेसम्मका लागि स्थगित गरिएको छ।