म त यो सरकारलाई 'ओली' सरकार होइन 'बोली' सरकार भन्ने गरेको छु -प्रकाश शरण महत



प्रकाश शरण महत नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा चर्चित नेता हुनुहुन्छ | बर्तमान पार्टी सभापति देउवाका एक विश्वासपात्र पनि हुनुहुन्छ | उहाँ यतिबेला अमेरिका भ्रमणमा हुनुहुन्छ | अमेरिका मै रहनु भएका महतसंग द नेपाल टुडेका प्रधान सम्पादक सतिश चापागाईंले गर्नु भएको अन्तरबार्ता प्रस्तुत छ :

तपाईको अमेरिका भ्रमण शिलशिला के हो ?

यो मेरो नितान्त व्यक्तिगत भ्रमण हो | मेरी छोरीले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट एलएलएम गरेकीले उनको ग्र्याजुएशनका लागि आएको हुँ | तैपनि, नजिकका साथीभाई र पार्टीका कार्यकर्तासंग भेटघाट पनि भएको छ |

कति दिन बस्नु हुन्छ ? स्टेट स्टेट जाने र कार्यकर्ता भेट्ने कार्यक्रम पनि छ की ?
म १५ तारिख नै फर्कदै छु | साथीहरुबाट निम्तो त आएको छ तर बस्न समय छैन |

सभापतीलाई ठुलै दबाब छ की क्या हो अझै पनि महत्वपूर्ण पदमा मनोनित गर्न सक्नु भएको छैन !
एक उप सभापती, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्ने हो | भर्खर दुई महिना त भयो | सोच्दै विचार गर्दै हुनुहोला | उहाँले केन्द्रिय समितिमा प्रस्ताब लैजानु हुन्छ र थाहा हुन्छ |

हामीले तपाई पार्टीको महामन्त्री भएको सुन्न कहिले पाउने ?  
तपाईले भने जस्तै म पनि महामन्त्रीका लागि इच्छुक छु | मेरो ईच्छाका बारेमा उहाँलाई थाहा छ | पार्टीका धेरै साथीहरुको चाहना पनि यही छ | लामो समयदेखि क्रियाशील छु | सभापतीलाई निर्वाचित गराउन मैले पनि महत्वपूर्ण भूमिका खेलेको छु | म मात्रै होइन अरु साथीहरु पनि योग्य हुनुहुन्छ, हेरौं के हुन्छ !

सभापतिले रामचन्द्र पौडेललाई कुन भूमिका दिनुहुन्छ होला ?
उहाँलाई दिने भनेको सभापती पछिको दोस्रो बरियता क्रममा राख्ने हो | राखिएको छ | सभापतिले हरेक निर्णय प्रक्रियामा उहाँको राय, सल्लाह र सुझाब लिने भनेर भनिसक्नु भएको छ | उहाँ सधै सम्मानित रुपमा रहनुहुनेछ | पद बिना पनि त धेरै भूमिका हुन सक्छ नी !

यो दुई महिनामा खासै केहि गरेको देखिदैन नी !
दुई महिना मै उपलब्धी खोज्नु त भएन | तैपनि हामी पार्टीमा पद्दती बसाल्ने बारेमा सोच्दै छौं | कसरी असल कार्यकर्ताको सहि मुल्यांकन गर्न सकिन्छ ? कसरी उनीहरुलाई संगठनका काममा लगाउन सकिन्छ ? कसरी पार्टी संगठनलाई बलियो बनाउन सकिन्छ ? यहि बिषयमा सभापती र वर्तमान नेतृत्व छलफल गरिरहेको पाएको छु | साथै भ्रातृ संस्थाहरुको निर्वाचन छ महिना भित्र सम्पन्न गर्न भनेर निर्देशन दिईसक्नु भएको छ |

किन सरकार परिबर्तन गर्न लाग्नु भएको ?

हामी सरकारका कामबाट कत्ति पनि सन्तुष्ट छैनौं | प्रचण्ड जी नै स्वयं हाम्रो पार्टी सभापती समक्ष आउनु भयो र असन्तुष्टि ब्यक्त गर्नु भयो | सरकारमा भएपनि केहि काम भएन | जनताको बिजोग भयो भन्नुभयो | हामी सरकार परिबर्तनको पक्षमा छैनौं भन्दा उहाँले कांग्रेसले समर्थन गर्छ भने म राम्रो गरेर देखाईदिन्छु भन्नुभयो | अब जनतालाई राम्रो हुन्छ भने हाम्रो समर्थन छ भनिदिएका हौँ | जनताका पक्षमा बोल्नु त हाम्रो कर्तब्य र धर्म दुवै हो | हामी प्रमुख प्रतिपक्ष पनि त हौँ |

सरकार परिबर्तनका लागी पछिल्लो पटक कांग्रेसले कच्चा खेल खेलेको भन्ने लाग्दैन ?
के ओली सरकारको बारेमा बोल्नै नहुने हो र ? हामी जनताको मतका आधारमा देशको सबैभन्दा ठुलो पार्टी हौँ र संसदमा बिपक्षी हौँ | बिपक्षी दलको काम के हो ? सरकारले गरेका नराम्रा निर्णय र कामको बिरोध किन नगर्ने ? हामीले सचेत बनाएका हौँ | कच्चा खेलका बारेमा प्रचण्ड बोल्नु होला |

सभापती देउवा भारतबाट आउने बित्तिकै सरकार परिबर्तनको कुरा चल्यो | भारतको ईशारामा यस्तो भएको आरोप छ नी ?

एकदम गलत कुरा | देउवापत्नी आरजुको इन्डियामा हिपको मेजर अप्रेशन भएको थियो | श्रीमतीको अप्रेशन हुँदा श्रीमान जानु स्वाभाविक हो | त्योभन्दा पहिलेदेखि नै कुरा चलिरहेको थियो | पार्टी संसदीय समितिमा छलफल भएको छ | अरु पार्टीहरुसंग कुरा भएको छ | माओबादी अध्यक्ष प्रचण्डसंग व्यापक छलफल भएको हो |

त्यसोभए भारतसंग देउबाले सम्बन्ध विस्तार गरेर आएको र उसकै ईशारामा सरकार परिबर्तन गर्न लागेको भन्ने होइन ?

होइन | देउवाको ट्रयाक रेकर्ड पनि त्यस्तो छैन | राष्ट्रिय स्वार्थमा उहाँ कसैसंग झुक्नु हुन् | उहाँलाई राजनीतिमा अडिग र अनाबश्यक सम्झौता नगर्ने नेता भनेर चिनिन्छ |

वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारेमा के भन्नुहुन्छ ?

यो सरकार नारावादमा विश्वास गर्छ | नारा मात्रै बाडेको छ |  सस्तो सस्तो कुरा गर्छ | एउटा गतिलो काम गरेको मैले सुनेको छैन | म त यो सरकारलाई 'ओली' सरकार होइन 'बोली' सरकार भन्ने गरेको छु | यो सरकारको अहिलेसम्मको उपलब्धी काम होइन, बोली मात्र हो | नीति तथा कार्यक्रम त्यही अनुरुप गरेको छ | कुनै नयाँपन देख्दिन |

किन ? नयाँ नयाँ घोषणा गरेको छ | सबैले यो सरकार लोकप्रिय हुदैछ भन्दैछन |

कुरा त यो सरकारले आकाश पाताल जोड्नेसम्मको गरिसक्यो | गर्न पर्ने भए पो विचार गरेर बोल्नु पर्ने,  गर्नु पर्दैन जति बोले पनि भयो |  घोषणाले देश बन्दैन | गत बर्षको बजेटको काम गर्न सकेन | भुकम्प पिडितलाई आएको सहयोग बाँड्न सकेको छैन | जुन सरकारले देशमा संस्थागत कालो बजारी चलाउछ त्यो सरकारले घोषणा मात्रै गर्ने हो, काम गर्न सक्दैन | संसार कै न्यून आर्थिक वृद्धि दर भएको देशले कस्तो लोकप्रिय बजेट दिन्छ? देशको आर्थिक वृद्धि दर उकास्ने कुरा भए, रोजगार सिर्जना गर्ने कुरा भए पो लोकप्रिय !

कसरी भन्नुभयो सरकारले कालो बजारीलाई संस्थागत गरेको भनेर !

 हो नी ! सिमा खुलेको महिनौ भयो अझै पनि तेल र ग्यास पाईएको छैन | लाईनमा लाग्दा पनि, पैसा हुदा पनि किन्न पाईएको छैन | हामीले संसदमा सोधेका थियौं किन यस्तो भयो भनेर ? तर सरकारले जवाफ दिन सकेन | मिडियामा उहाँ कै कार्यकर्ताहरु कालो बजारीमा संलग्न छन् भनेर समाचार आएका छन् |

ओली सरकारले केहि पनि राम्रो नगरेको भन्ने तपाईहरुको धारणा हो है ?
ओली सरकारबाट जनता आक्रान्त छन | कसैलाई पद बाँडेको छ, जनतालाई बोली बाँडेको छ | त्यत्तिको भरमा टिकेको छ |

कांग्रेसका कारण सरकारले काम गर्न पाएन भन्ने आरोप लगाएका छन्, के भन्नु हुन्छ ?

कांग्रेसले कहाँ गएर सरकारलाई अबरोध गरेको छ ? कांग्रेसले बिरोध गर्न परेको छैन, जनताले नै हावा सरकार भनेका छन् | हामीले त सचेत गराएका मात्र छौं | सारा कुरा छाडेर भुकम्प पिडितलाई सहयोग गरौँ भनेका छौं | पैसा कांग्रेसको पालामा जम्मा गरिसकेका छौं त्यो खर्च गर्न सकेको छैन | हामीले ऋण र अनुदानको मापदण्ड तयार गरौँ जनता आफै घर बनाउछन भनेका छौं  | अब बर्खा लागिसक्यो घरबार नभएकाहरुको अवस्था के हुने हो?  पैसा भएपनि बन्ने अवस्था छैन | सरकारले सोचेको छ ? समय हुदासम्म रेलका सपना बाड्ने ! घरघरमा ग्यास पठाउने कुरा गर्ने ! अब जनताले आवाज उठाउदा कांग्रेसलाई दोष दिने ?

अब फरक प्रसंग, तपाईको छोरी विदेश बसेर पढ्नु हुन्छ, छोराछोरी विदेश राखेर पढाउने नेताले देशको माया गर्दैनन् भन्ने आरोप छ, तपाई के भन्नु हुन्छ ?

म आफै पनि यहि अमेरिका पढेको हुँ | फर्केर गएँ | देशमा परिबर्तन गर्नु पर्छ भनेर हिडेकै छु | हाम्रो पार्टीमा धेरै साथीहरु विदेशमा पढेर गएका हुनुहुन्छ | पाएको अवसर छोडेर गरेका हौँ | भ्रम पाल्नु बेकार छ | हामी समस्या समाधान गर्छौं भनेर हिम्मत गरेर गयौं | कति जान सक्नु भएको छैन, त्यहाँ अवसर छैन भनेर | उहाँहरुको भनाई पनि ठिकै हो | हामी नेताहरुको काम त्यो उपलब्ध गराउनु हो | जहाँसम्म विदेश पढ्न जाने कुरा छ, त्यही सेवा सुबिधा र गुणस्तरको शैक्षिक संस्था र प्रणाली देशमा नै भए को बाहिर जान्छ ? यो पनि सस्ता र लोकप्रिय कुरा गर्नेहरुको सोच हो |


, ,