भारतीय सेनाको हातहतियार डिपोमा आगलागी, दुई अधिकृतसहित १७ को मृत्यु

एजेन्सी जेठ, १८-महाराष्ट्र–महाराष्ट्रको पुलगाउँस्थित सेनाको हतियार रहेको डिपोमा भीषण अगालागी भएको छ। आगलागीमा परी हालसम्म २ अधिकृतसहित १७ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्। आगलागीमा परी १९ जना सेना घाइते भएका छन्। सो डिपोमा विस्फोटको आवाज आइरहेको संचारमाध्यमले उल्लेख गरेका छन्। सो क्षेत्रमा डाक्टरलाई सर्तक अवस्थामा राखिएको छ। राति दुई बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। हतियारको डिपो रहेको आसपासका ७ वटा गाउँ खाली गराइएको छ भने एक हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। सो आगो सुरुमा सेनाको डम्पिङ यार्डमा लागेको थियो। हतियार रहेको डिपोमा आलो लाग्ने वित्तिकै नियन्त्रणको प्रयास सुरु गरिएपनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन। आगो निभाउने क्रममा सेनाका चार अधिकृत घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको संचारमाध्यमले जनाएका छन्। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन्।