अनूपम आकृति (कविता) - मैया सुवेदी

अनूपम आकृति

अनूपम आकृति
तर अनन्त आलोक
एउटा अस्तित्व,तर असंख्य बिम्ब
प्रत्यक्ष प्रतिरूप, तर अमूर्तकला
ब्याख्या गरौं शब्दले धान्दैन,
विचार तरंगित् हुन्छ
भावना तरलित बनेर बगिदिन्छ,
चेतना जड बनिदिन्छ
एउटा कामना,जो उत्तालिन्छ
अराजक बन्दै र नखरा गर्छ,
चाँदको पिछा गर्दै कादम्बिनी झैं दौडिन्छ ।

खै कस्तो आकृति हो त्यो रु
कहिले बसन्त बनेर
लालिगुराँस फुलिदिन्छ,
कहिले हिमालमा पुगेर
सुर्यको आरुणलाई चुमिदिन्छ,
आँखा झिम्किन मान्दैन,
मन पानी बन्छ,तर
कस्तो अचम्म,
मन तृष्णाले परितप्त बन्दै
पोखिन खोज्छ छताछुल्ल हुँदै
हेर्दा हेर्दै
सौन्दर्यमा ब्रह्माण्ड नै रित्तिए वा
फूलहरूका रंग उडेजस्तै लाग्छ,
र कहिले त्यो आकृति
नदी जस्तै नागवेली बनेर बगिदिन्छ ।

मानौं तृषितहरूको प्यास मेट्न
ऊ कुदिरहेको छ
सुख्खा मनहरूलाई सिञ्चित गर्ने अविरल गंगा जस्तै
क्षितिज चुम्न खोज्दै गर्दा,
मसक्क मस्किएको शशी जस्तै
आकृति, आलोकित हुन पुग्दछ।

घामसँग लजाएर झुकेको सुर्यमुखी जस्तै
त्यो अकृतिको मुस्कानले
सुतिरहेको जगतलाई
ब्युंझाए जस्तैशक्तिशाली भान हुन्छ
म हेर्दै छु त्यो आकृति लगातार
तर पनि आँखाहरु थाक्दैनन्,
वर्षा यममा चम्किएको बिजुली हो त्यो,
शायद कामदेवले खैंचेको धनुष पनि हुन सक्दछ।

२०७३ वैशाख ५, पोखरा