अलविदा अम्बर : जेठा छोरा किशोरले दिए दागबत्ती, उपप्रधानमन्त्री रावलले राष्ट्रिय झण्डा ओढाए



काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका कहिल्यै ननिभ्ने तारा बरिष्ठ संगीतकार अम्बर गुरुङको पशुपति आर्यघाटमा अन्त्यष्टी भएको छ । गुरुङलाई हिन्दु परम्परानुसार जेठा छोरा किशोरले दागबत्तती दिएका छन् ।

गुरुङको पार्थिव शरीरमा उपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय झण्डा ओढाई सम्मान अर्पण गरे । गुरुङको राष्ट्रिय सम्मानका  साथ अन्त्येष्टी गरिएको हो । यद्यपि, प्रधानमन्त्रीले सम्मान दिन बताइएपनि प्रधानमन्त्री ओली राजधानी बाहिर रहेकाले उपप्रधानमन्त्रीले सम्मान अर्पण गरेका हुन् । यस्तै नेपाली सेनाले गुरुङलाई सलामी अर्पण गरेको छ । आर्यघाटमा विशिष्ठ व्यक्तिहरुसहित हजारौंले श्रद्धान्जली दिए ।

७९ वर्षको उमेरमा उपचार गर्दा गर्दै निधन भएका गुरुङको पार्थिव शरीर यसअघि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विहान ११ देखि दिउँसो ३ बजे श्रद्धान्जलीका लागि राखिएको थियो । गुरुङलाई श्रद्धान्जली दिन पूर्व राष्ट्रपति, विभिन्न दलका शीर्ष नेताहरु, मन्त्री परिषद्का सदस्यहरु प्रज्ञा प्रतिष्ठान पुगेका थिए । सांगीतिक क्षेत्रका श्रष्टा र नेपाल संगीत नाट्य प्रतिष्ठान र नेपाली सेनाले गुरुङको शवयात्रा एवं अन्त्यष्टीको व्यवस्थापन गरेको थियो । शव यात्रा कमलादीबाट पशुपति आर्यघाट पुगेको थियो ।

लामो समयदेखि विरामी रहेका गुरुङको खासगरी खाने नलीमा समस्या देखिएको थियो । उपचारका लागि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएकामा मंगलबार राति निधन भएको हो । हजार बढी गीतमा संगीत भरेका अम्बर गुरुङको अजम्बरी यात्रा नेपाली सांगीतिक क्षेत्रमा एक इतिहास बनेको छ ।