इन्जुरी समयको गोलले इंग्ल्याण्ड विजयी, वेल्स पराजित

एजेन्सी असार,२-डेनियल स्टुरेजले इन्जुरी समयमा गरेको गोलको मद्दतमा इंग्ल्याण्डले युरो कपको आफ्नो दोश्रो खेलमा वेल्सलाई हराएको छ । वेल्सलाई २–१ ले हराएको इंग्ल्याण्डले युरो कपको नक आउट चरणमा पुग्ने संभावना बलियो बनाएको छ । लिभरपुलका स्ट्राइकर स्टुरेजले डी बक्समा डेली अलीबाट पाएको पासलाई बायाँ खुट्टाले प्रहार गर्दै गोल गरेका हुन् । यसअघि वेल्सका लागि ग्यारेथ बेलले ४२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएको भए पनि त्यसलाई जोगाउन नसक्दा उ पराजित भयो ।
जारी युरोको पहिलो खेलमा स्लोभाकियाविरुद्धको खेलमा पनि गोल गरेका बेलले यो सहित वेल्सका लागि गरेको गोलको संख्या २१ पुगेको छ । ५६ औं मिनेटमा जेमी भर्डीले इंग्ल्याण्डका लागि गोल गरे । उनले पोष्टको नजिकैबाट गरेको दाहिने प्रहार गोलमा परिणात भएको थियो । भर्डी इंग्ल्याण्डका लागि गोल गर्ने प्रिमियर लिग विजेता लिसेस्टर सिटीको पहिलो खेलाडी हुन् । यो खेलमा इंग्ल्याण्डले ७० प्रतिशत समय बल नियन्त्रणमा राखेको थियो भने वेल्सले ३० प्रतिशत समय मात्र बल नियन्त्रणमा राख्न सक्यो । इंग्ल्याण्डले वेल्सको पोष्टमा गरेका २० वटा प्रहार मध्ये ५ वटा प्रहार टार्गेटमा थिए । तर वेल्सका ७ वटा प्रहार मध्ये २ वटा मात्र टार्गेटमा थिए ।पहिलो पल्ट युरो कप खेलिरहेको वेल्सले यसअघि आफ्नो पहिलो खेलमा स्लोभाकियालाई हराएको थियो । इंग्ल्याण्ड भने रसियासँग बराबरीमा रोकिएको थियो । अब ३ अंक भएको वेल्सले १ अंक भएको रसियासँग र ४ अंक भएको इंग्ल्याण्डले ३ अंक भएको स्लोभाकियासँग खेल्न बाँकी छ । वेल्स र इंग्ल्याण्ड बिचको यो १ सय ३ औं प्रतिस्पर्धा थियो । जसमा इंग्ल्याण्डले ६७ तथा वेल्सले १४ खेल जितेका छन् । २१ खेल ड्र भएको छ । पछिल्लो पल्ट सन् २००६ को विश्वकप छनौट र सन् २०१२ को युरोकप छनौटका चार वटै खेल इंग्ल्याण्डले जितेको थियो । ती ४ खेलमा वेल्सले एक गोल पनि गर्न सकेको थिएन ।