कोरियन भाषा परीक्षाको तयारी अन्तिम चरणमा

काठमाडौं असार,१-आउँदो असार ४ र ५ गते हुने कोरियन भाषा परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ ।
परीक्षा सञ्चालनको अवलोकन गर्न कोरियाबाट ४८ जना सरकारी अधिकारीको एक टोली नेपाल आएको छ । उनीहरुमध्ये केही पोखरामा हुने परीक्षा अवलोकन गर्न जानेछन् । त्यस्तै परीक्षा केन्द्रका विद्यालयबाट खटिने शिक्षक र अन्य निरिक्षकहरुलाई अभिमुखिकरण तालिम दिइसकिएको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए । सुरक्षा तथा परीक्षा मर्यादित गर्नेबारे श्रम तथा रोजगार मन्त्रालय र सुरक्षा निकायका प्रतिनिधीसित पनि छलफल भइसकेको बाँस्तोलाले बताए । कोरियन भाषा परीक्षाका लागि परीक्षार्थीको सिम्बोल नम्बर अनुसार २१ वटा परीक्षा केन्द्र तोकिएको छ । काठमाडौं उपत्यकामा १८ र पोखरामा तीन वटा केन्द्र तोकिएको छ । सबै केन्द्रमा दुवै दिन दुई सिफ्टमा परीक्षा सञ्चालन हुनेछ । पहिलो सिफ्टको लागी विहान ८ः३० बजे र दोश्रो सिफ्टका लागी दिनको १२ः३० बजेसम्म परीक्षा हलभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । निर्धारित समयभित्र परिक्षा केन्द्रमा प्रवेश नगर्ने परीक्षार्थीलाई परीक्षामा सामेल नगराइने इपिएस कोरिया शाखाले जनाएको छ । कुनै पनि बहानामा आवेदकहरुलाई तोकिएको परीक्षा केन्द्र, मिति र समय भन्दाबाहेक परीक्षामा समावेश नगराइने निर्देशक बाँस्तोलाले बताए ।