काबुलमा नेपाली सवार बसमा आत्मघाती बम बिस्फोट, १४ नेपालीको मृत्यु, ५ घाइते


  • घाइतेकाे अवस्था सामान्य
  • 'हमलामा परेका गार्डहरु क्यानेडियन दूतावासकाे सुरक्षामा तैनाथ हुन्थे'


- कमलदेव भट्टराई, नयाँदिल्ली
असार ६, २०७३- अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान तालिबानी आतंकवादीले गरेको आत्मघाती बम बिस्फोटमा परि १४ जना नेपालीको मृत्यु भएको अफगानी गृहमन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । विज्ञप्तीका अनुसार बिस्फोटमा परी अन्य ५ नेपाली र ४ अफगानी घाइते भएका छन् ।

तालिबान आतंकवादीले नेपाली सुरक्षा गार्ड सवार रहेको मिनिबसमा बिहान ५:४० बजे आत्मघाती हमला गरेका थिए । बिस्फोटमा परी १४ जनाको मृत्यु भएको हाे भने ९ जना घाइते भएका छन् ।

काबुलका प्रहरी प्रमुख अब्दुल रहमानका अनुसार नीजि सुरक्षा गार्डकाे अावस नजिकै घात लगाएर बसेका अातंकवादीले गार्ड चढेकाे गाडी अावसकाे गेटबाट बाहिरिए लगत्तै बिस्फोटन गराएका हुन् । बिस्फाेटमा परी उक्त बजारमा रहेका अन्य सर्वसाधारण पनि घाइते भएकाे उनले जानकारी दिए ।

पाकिस्तानस्थित नेपाली दूतावासले घट्ना सम्बन्धी विस्तृत जानकारी लिने काम भइरहेको बताएको छ । दूतावासले केही समयपछि विस्तृत जानकारी आउने दाबी गरेकाे छ । 

दूतावासका एक अधिकारीका अनुसार मृतक तथा घाइते त्यहाँकाे एक निजी सुरक्षा कम्पनीमा काम गर्दथे, जसले क्यानेडियन दुतावासलाई सुरक्षा प्रदान गर्दथ्यो । घाइते ९ जनाको भने अवस्था सामान्य रहेको जानकारी समेत ती अधिकारीले दिए ।

तालिबानका प्रवक्ता जबिउल्ला मुजाहिदले ट्वीट गर्दै उक्त हमलाकाे जिम्मेवारी लिएका छन् ।

स्रोत कान्तिपुर