आफ्नो सरकार बिरुद्ध अमेरिका र भारत लागेको ओलीको गुनासो



काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार र एमाले पार्टी विरुद्ध अमेरिका र भारतले षडयन्त्र गरिरहेको दावी गरेका छन। बालुवाटारमा बसेको पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्रीले अमेरिका र भारतले नेपाल र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र गरिरहेको बताएको एमाले निकट स्रोतले जनाएको छ। पार्टीभित्रको आन्तरिक एकता वलियो बनाउँदै अन्य राजनीतिक दलहरुबीचको एकता र सहमति जरुरी भएको ओलीले बताए।

सरकारका विरुद्ध पार्टीभित्रकै बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले दिएको सार्वजनिक अभिब्यक्तितर्फ संकेत गर्दै ‌ओलीले पार्टीभित्र पनि विदेशी चलखेल बढेको बताएका हुन। हालै अमेरिका भ्रमणमा गएका परराष्ट्र मन्त्री कमल थापालाई अमेरिकी विदेशमन्त्रीले नेपालमा आफूहरुको पनि रणनीतिक स्वार्थ रहेको भन्दै चिनीयाँ बढ्दो प्रभावका बारेमा असन्तुष्टी जनाएको परराष्ट्र स्रोतले बताएको छ। पार्टीभित्र र सत्तारुढ दलहरुमा देखिएको पछिल्लो खिचातानीलाई पनि यसमा जोडेर हेरिएको छ।

भारतका तर्फबाट सरकार गिराएर नयाँ गठवन्धन बनाउन खोजेको एमाले अध्यक्ष तथा सरकारका प्रधानमन्त्री केपी ओली र उनका निकटहरुको बुझाइ छ। यो बुझाइ आम नेपालीहरुमा पनि व्याप्त छ।

बैठकमा बरिष्ठ नेता माधव नेपालले पार्टी नेतृत्व एकलौटी ढङगले चलेको आरोप लगाउँदै राष्ट्र संकटमा भएकाले पार्टीमा छलफल गरेर संस्थागत निर्णय निर्णय सहित अघि बढ्न पर्नेमा जोड दिए। उनले एक्लाएक्लै चल्ने ढंगले अघि बढ्दा कसैको हित नहुने तर्फ सचेत गराए।