काबुल आक्रमणबारे सरकार बोल्यो


काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहानै भएको आत्मघाती हमला र त्यसमा परी मृत्यु भएका नेपालीबारे सरकारले संसदमा जानकारी गराएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले व्यवस्थापिका संसद बैठकमा यसबारे जानकारी गराएका हुन् । थापाले घटनाबारे जानकारी गराउँदै शोक प्रस्ताव पेश गरे ।

उनले घाइतेको शिघ्र स्वास्थ्य लाभको लागि कामना गर्दै घटनाबारे थप विवरण संकलन गर्न सरकार लागि परेको जानकारी गराए । नेपाली सुरक्षा गार्डहरुको मृत्युको खबरपछि बिहान परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो । घटनाबारे बुझ्न र मृतकको शव नेपाल ल्याउन मन्त्रालयले सबै संयन्त्र प्रयोग गर्ने भएको छ ।  घटनामा मृत्यु हुने नेपालीका परिवारलाई आवश्यक सूचना प्रवाह गर्न तथा अन्य सहयोग पुर्‍याउन परराष्ट्र मन्त्रालयमा डेक्स स्थापना भएकाे छ । सरकारले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

यस्तै, प्रधानमन्त्री केपी ओलीले समेत काबुल विष्फोटको भत्सना गर्दै मानवीय क्षतिप्रति आफु स्तब्ध भएको वक्तव्य जारी गरेका छन् । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग गर्ने जानकारी गराएका छन् । काबुलमा तालिवान आतंकवादीले आत्मघाती आक्रमण १४ नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । आक्रमणमा ५ नेपाली र ४ अफगान नागरिक घाइते भएका छन् ।

,