पूर्वयुवराज पारस शाह अचानक खप्तड भ्रमणमा



चन्द्र धामी

काठमाडाैँ। पूर्वयुवराज पारस शाह सुदुरपश्चिमको प्रमुख पर्यटकीय एवं तीर्थ स्थल खप्तड पुगेका पुगेका छन् । पारस १५–२० जनाको समूहनै लिएर खप्तड पुगेका हुन् । पारसको साथमा पारिवारीक सदस्य सीताष्मा राज्य लक्ष्मी शाहलगायत छन् । पारसलाई लैजाने पूर्व प्रहरी प्रमुख हेम बहादुर सिंहका छोरा प्रवन जङ्ग सिंह हुन् । आध्यात्मिक नाम ‘व्याघ्र वेद नाथ’ राखेका प्रवन पारसका निकै मिल्ने साथी हुन् ।

प्रवन बाबा बनेकै कारण ध्यान गर्न तथा पारस तीर्थ यात्राका लागि खप्तड पुगेका बताइएको छ । पारसको टोली १०–१५ दिन बस्ने बताइएको छ । यद्यपि, प्रवन ध्यानका लागि केही महिना बस्न सक्ने बताइन्छ । टोलीले जेनेरेटर लगाएतका बन्दो बस्तीका सामान लिएर आएका छन् ।

यद्यपि, पारस खप्तड पुगेको बारे चार वटै जिल्ला डोटी, अछाम, बझाङ बाजुराका सुरक्षा निकाय वा अन्य कसैलाई जानकारी छैन । पारसको टोली अन्य सामान्य नागरिक सरह तीर्थ यात्राको लागि खप्तड पुगेकाले कसैलाई जानकारी नभएको खप्तड राष्ट्रिय निकुन्जका वाडेन रामचन्द्र खतिवडाले जानकारी दिए । २२ पाटन (मैदान) ५२ झोती (थेम्का) र २६ ताल (दह) रहेको खप्तड डोटी, अछाम, बझाङ र बाजुराको बीच भागमा पर्दछ । यद्यपि, खप्तड राष्ट्रिय निकुन्ज रहेको क्षेत्र भने बाजुरामा पर्दछ ।

पारसको टोलीले खप्तड जाँजा पर्यटकलाई सजिलो होस् भन्नका लागि १७ वटा घोडा दिएको बताइएपनि यकिन भएन । वाडेन खतिवडाले यसबारे कुरा गर्दै भने, ‘कुनै संघ संस्थालाई दिएको हो भने हामीलाई जानकारी छैन, नभए हामी सरकारी कार्यालयले कुनै उपहार लिन मिल्दैन ।’ उहाँहरु आएको हामीलाई जानकारी छ । अन्य उहाँहरको सुरक्षा व्यवस्था र अन्य व्यवस्था कुनै केही छैन । सामान्य धार्मीक यात्राका रुपमा आएकाले खासै व्यवस्थापन नभएको खतिवडाले बताए ।

त्यहाँको सेनाले समेत पारसको टोली आएको थाहा पाएको र कुनै सुरक्षा व्यवस्था नभएको बताएको छ । सेनाको गुल्मका एक हवल्दारले भने, ‘हामीले सधैं गर्ने रेख देख गरिरहेका छौं, सबै कुरा हामीलाई थाहा छैन, पूर्व राजाले भीआइपीहरुका लागि बनाएको पाहुना गृहमा बस्नु भएको छ । सेक्युरिटी केही मागिएको र दिइएको छैन ।’ पारसको टोली श्री १००८ ब्रहमवित् परमहंस योगी सच्चिदानन्द सरस्वती –श्रीखप्तडस्वामी को भेट आश्रम नजिकै रहेको पाहुना गृहमा बसेको छ । जो पूर्व राजा वीरेन्द्रले बनाउन लगाएका हुन् । खप्तड स्वामी हुँदा पूर्व राजा वीरेन्द्र परिवारका सदस्य र सहयोगिसहित  खप्तड पुगिरहन्थे । पछि स्वामीको निधन र वीरेन्द्रको वंश नाशपछि राजपरिवारका सदस्यहरु खप्तड आउन छोडेका थिए ।

गंगादशहरा मेलाकै अवसर पारी पूर्व राजपरिवारको सदस्यका तर्फबाट पूर्व युवराज पारस खप्तड पुगेका हुन् । गणतन्त्र अघि गंगादशहरामा दर्शन गर्न पूर्ज राजा खप्तड पुग्ने गर्दथे । यद्यपि, खप्तड स्वामीको निधनपछि बाबा कुटी खाली भएको छ भने, अन्य धर्मशालाहरुमा बाबाहरु केही समय आउने बस्ने मात्रै गर्दछन् । लामो समय ध्यान गरेर बस्नेहरु भने छैनन् । पूजा आजा भने  सेनाकै पुजारीबाट हुँदै आएको छ ।

बटुवाले चिने-सीडीओले थाहा पाएनन्
खप्तडको प्रवेशद्धारका रुपमा चीनिने डोटीको सदरमुकाम सिलगढी हुदै केही समय खप्तडमा बस्ने गरी पारस डोटीको झिंग्राना हुँदै खप्तड पुगेका पनि डोटीका प्रमुख जिल्ला अधिकारी केशव प्रशाद आचार्यले यसबारे आफुलाई औपचारीक रुपमा जानकारी नभएको बताए । उनले भने, ‘जिल्लामा कहिले काँही विशिष्ट व्यक्ति आएपनि आफुलाई जानकारी हुँदैन । पारश शाह आएको कुरा चाही सत्य हो ।’ पूर्व युवराज घोडा आएको देखेपछि मात्रै उनी आएको थाहा पाएको गंगा दशहरा मेला दर्शन गरेर फिर्ता भएका प्रत्यक्ष दर्शीले बताए ।

सुदूरपश्चिमको सवैभन्दा प्रशिद्ध पर्यटकिय गन्तव्य र तीर्थ स्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिर सम्मको समय उपयुक्त मानिन्छ । खप्तडको सवैभन्दा आकर्षक गंगादशहरा मेला हो । त्यसपछि भाद्र महिनामा समेत खापड दहमा जात्रा लाग्ने गर्दछ । सुदूरपश्चिमका ९ वटै जिल्लासहित देशभरबाट भक्तजनको भीड लाग्ने गर्दछ भने विदेशी पाहुना तथा छिमेकी मुलुक भारतका तीर्थयात्री समेत पुग्दछन् ।

धर्तीकै स्वर्ग
धर्तीकै स्वर्ग भनिने मानववस्ती नरहेको लेकमा अवस्थित खप्तड १ हजार २४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।  सरकारले २ सय २५ वर्ग किलोमिटर क्षेत्रलाई खप्तड राष्ट्रिय निकुन्जका नाममा छुट्टयाएको छ । खप्तडको पर्यटन विकासका लागि भनेर सरकारले पर्यटन मन्त्रालय अन्तर्गत खप्तडक्षेत्र पर्यटन विकास समितिको रुपमा एक निकाय स्थापना समेत गरेको छ । यद्यपि, खप्तड सम्म पुग्नका लागि सहज मोटरबाटो र अन्य भौतिक पूर्वाधार अझै पर्याप्त बन्न सकेका छैनन् । खप्तडको विकासका लागि केही समय अघि बनेको गुरुयोजना समेत कार्यान्वयन हुन सकेको छैन ।
खप्तडमा हिउँदको कार्तिक–मंसिर महिनाबाट चैत–वैशाख महिनासम्म हिमपात हुन्छ । यो समय बाहेक बाँकी समय घुम्नका लागि उपयुक्त मौमस मानिन्छ । जहाँ २२ पाटन (मैदान) ५२ झोती (थेम्का) र २६ ताल (दह) छन् ।

खप्तड क्षेत्रको मुख्य धार्मिक स्थलहरूमा त्रिवेणी धाम, सहस्त्रलिङ्ग, खप्तड दह, नागढुङ्गा, बाबाकुटी, केदारढुङ्गा र छिन्टेढुङ्गा रहेका छन् । यी सबै धार्मिक स्थलको आ–आफ्नै महत्व छ । खप्तड घुम्न आउने पर्यटकहरू प्रायःजसो सवै धार्मिक स्थलको भ्रमण गर्ने गर्दछन् । एक ठाउँबाट अर्को ठाउँ जान १ देखि २ घण्टाको समय लाग्ने गर्दछ्र । हिमाली क्षेत्रमा पर्ने खप्तडलाई तीन तिर ५ हजार फिट अग्ला पहाड र उत्तर पट्टी साइपाललगायका हिमालहरूले घेरेका छन् । खप्तडका पाटनहरू दूबो र विभिन्न रङ्गीचङ्गी फूलहरूले शोभायमान बनेका हुन्छन् ।

खप्तडमा विश्वकै दुर्लव हरियो छेपारो र बहुमूल्य जडिबुटी र चार सय प्रजाचीका चराहरु पाइने बताइन्छ । खप्तडमा पर्ने खापडदह जसलाई खप्तड ताल पनि भनिन्छ यो संरक्षणको अभावमा पुरिँदै गइरहेको छ । २०७२ वैशाखमा आएको भूकम्पले त्यहाँका साना पहाड भत्काएको छ ।
हाम्राकुराबाट

,