कालिमाटीमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु

काठमाडौं असार,२-एचपी ग्यासको सिलिन्डर विस्फोट हुँदा पाटनमा तीन जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै सुगम ग्यासको सिन्डिर विस्फोट भएर अर्का एक जनाको मृत्यु भएको छ। सुगमको सिन्डिर विस्फोट हुँदा मंगलबार घाइते भएका एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। शरीरको अधिकांश भाग जलेपछि कीर्तिपुर अस्पताल भर्ना भएका विभु पण्डित, २५ को उपचारका क्रममा मृत्यु भएको हो। पण्डित मंगलबार कालीमाटीस्थित घरेलु प्रविधिबाट चटपेटे बनाउने क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका थिए। शरीरको अधिकांश भाग जलेको अवस्थामा उनलाई कीर्तिपुर अस्पताल अन्तर्गतको नेपाल क्लाफ्ट एन्ड बर्न सेन्टर पुर्‍याइएको थियो। शरीरको धेरै जसो भाग जलेकाले बचाउन नसकेको अस्पतालले जनाएको छ। 'शरीरको साठी प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा ल्याइपुर्‍याइएको थियो', अस्पतालका बर्नप्लास्टिक सर्जन डा. विशाल कार्कीले नागरिकन्युजसँग भने, 'धेरै भाग जलेकाले अस्पताल ल्याउँदा नै पेसेन्टको अवस्था गम्भीर थियो। हामीले धेरै प्रयास गर्‍यौं तर सकेनौं।'भारतको बिहार घर भएका पण्डित कालिमाटीमा चटपटे व्यवसाय गर्दै आएका थिए।
टेकूस्थित सुगम ग्यासको डिपोबाट लगेको सिलिन्डर मंगलबार बिहान विस्फोट भएको थियो। सिलिन्डर विस्फोट हुँदा पण्डित सहित ७ जना घाइते भएका थिए। अन्य घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जेठको पहिलो साता ललितपुरको मंगलबजारमा एचपी ब्रान्डको ग्यास सिलिन्डर विस्फोट हुँदा सुरेश ताम्राकार, ध्रुव र राजेश ताम्राकारको मृत्यु भएको थियो। विस्फोटमा परी दुई जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा मृत्यु भएको थियो। सो घटनापछि मृतकका आफन्त सहित स्थानीयले ग्यास उद्योगलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए।