एक व्यक्ति, चार व्यक्तित्व -रघु पन्त





२०५२ सालतिरको प्रसंग हो।

पत्रकार मित्र वसन्त थापाले फोन गर्नुभएको थियो। उहाँ त्यसबेला भोटेबहाल, सुन्धारामा एउटा लज पनि चलाउनुहुन्थ्यो।

‘लौ न रघुजी, अम्बर दाइलाई मद्दत गर्नुपर्यो। उहाँलाई कार्यालयमा एउटा समस्या आइपरेको छ। एकपल्ट भेटौं न,’ वसन्त थापाले फोनमा यति भनेपछि म सुन्धारास्थित उहाँको लजमा पुगेको थिएँ अम्बर गुरुङलाई भेट्न।

वसन्तजीको लजको कौसीमा चिया खाँदै हामी झन्डै एक घन्टाजति गफिएका थियौं। त्यो भेटघाटअघि विभिन्न कार्यक्रममा सामान्य भलाकुसारी भए पनि त्यसरी बस्ने मौका मिलेको थिएन।

त्यो दिन मजाले कुरा गरेपछि मैले वसन्त थापाजीको सामुन्नेमै अम्बर गुरुङलाई एकेडेमीको जागिर छाडेर सांस्कृतिक संस्थानको अध्यक्ष बन्न आग्रह गरेँ। उहाँले मान्नुभएन। शिक्षामन्त्री हुनुभएका मोदनाथ प्रश्रितसँग अघिल्लो साँझ कुरा गर्दा उहाँ अम्बर गुरुङलाई सांस्कृतिक संस्थानको अध्यक्ष बनाउन सहर्ष तयार हुनुभएको थियो। त्यही आधारमा मैले अम्बर गुरुङसमक्ष अध्यक्ष पद स्वीकार्न आग्रह गरेको थिएँ।

त्यसपछि अम्बर गुरुङसँग कहिले नेपालयमा त कहिले विभिन्न कार्यक्रमहरूमा भेटघाट र कुराकानी हुन थाल्यो। म उहाँका गीतहरू नियमित सुन्थेँ। निकै गहकिला संगीत सिर्जना गरेका भए पनि र निकै सुमधुर गीतहरू लेखेका, गाएका र संगीत गरेका भए पनि अम्बर गुरुङका गीतहरू संकलित गरेर अल्बम निकाल्ने काम व्यवस्थित रूपमा भएको थिएन।

मेरो संग्रहमा रहेका नेपाली गीत–संगीतका अल्बममा अम्बर गुरुङको दुईवटा क्यासेट थियो। ‘दोभान’ र ‘कहिले लहर कहिले तरंग’ नाम गरेका ती दुईमध्ये ‘कहिले लहर कहिले तरंग’ मा रहेका सबै गीतमा स्वर–संगीत अम्बर गुरुङको आफ्नै थियो। यो संग्रहको एउटा गीत बैरागी काइँलाको थियो भने अरू सबै गीतका रचनाकार अम्बर गुरुङ स्वयं हुनुहुन्थ्यो। ‘दोभान’ का सबै गीतका गीतकार रत्नशमशेर थापा हुनुहुन्थ्यो भने संगीतकार अम्बर गुरुङ। गायक–गायिकामा दीप श्रेष्ठ, अरुणा लामा, रविन शर्मा, सुकमित गुरुङ लगायत हुनुहुन्थ्यो। यसबाहेक नेपालयले निकालेका विभिन्न संग्रहमा पनि अम्बर गुरुङका रचना छन्।

मेरो गीत–संगीत सुन्ने वा मन परेको सिनेमा हेर्ने समय अक्सर राति हुन्छ। मैले ‘कहिले लहर कहिले तरंग’ पचासौंपल्ट सुनेको छु। ‘दोभान’ आठ–दसपल्ट बजाए हुँला। रातको शान्त वातावरणमा धेरैपल्ट अभिभूत भएर मैले अम्बर गुरुङका सिर्जना सुनेको छु।

गीत, संगीत र गायनको दृष्टिबाट हेर्दा ‘कहिले लहर कहिले तरंग’ मा परेका गीतहरू उत्कृष्ट कोटीका छन्। अम्बर गुरुङको प्रधान व्यक्तित्व के हो भन्ने प्रश्न उहाँका गीत–संगीत सुन्दा मेरो मनमा बारम्बार आउँथ्यो। अम्बर एउटा स्वाभिमानी, देशभक्त र नेपाली संगीतका लागि हुरुक्क हुने नेपाली थिए। तर, विद्यागत रूपमा अम्बर गुरुङका चार व्यक्तित्व छन्– संगीतकार, गीतकार, गायक र लेखक। यी चार व्यक्तित्वमध्ये उनी मूलतः संगीतकार हुन्।

संगीतको गहिराइमा चुर्लुम्म डुबेका व्यक्ति थिए अम्बर गुरुङ। उनको ज्ञान पूर्वीय संगीत र पश्चिमी संगीत दुवैमा उच्च कोटीको थियो। नेपाली लोकभाका र आधुनिक संगीतका बारेमा उनी मिहिन विश्लेषण गर्थे। उनको सांगीतिक ज्ञान मात्र होइन, साहित्यिक ज्ञान पनि विस्तृत थियो। विश्व साहित्यबारे पनि उनको ज्ञान गहिरो लाग्थ्यो। उनका लेख–रचना साहित्यिक दृष्टिले पनि माथिल्लो स्तरका र पाठकको मन छुने सामथ्र्य राख्छन्।

संगीतकारपछि मलाई अम्बर गुरुङ आफ्नो अनुभूतिलाई मिठो तरिकाले व्यक्त गर्न समर्थ गीतकार लाग्छन्। उनका गीतहरूले प्रेम, पीडा, विछोड र दुःखहरूका साथै देश र मान्छेको कथा–व्यथा बोल्छन् र मान्छेलाई अभिभूत बनाउँछन्। स्रोतालाई अभिभूत बनाउने र बाँध्ने क्षमता भएन भने न गीत जम्छ न त संगीत।

गीतकारका रूपमा अम्बर जति सफल छन्, गद्य लेखन पनि उनको त्यति नै मिठो छ। उनका कृतिहरू पढ्ने पाठक उनको लेखन पढ्न थालेपछि स्वतः बाँधिन्छन्, मोहित हुन्छन्।

अम्बर गुरुङलाई नेपालीमाझ सुविख्यात बनायो ‘नौ लाख तारा उदाए’ गीतले। अगमसिंह गिरीले लेखेको यो गीतमा प्रवासमा छरिएका लाखौं नेपालीको पीडा अभिव्यक्त भएको थियो। पीडा र विद्रोह बोकेको यो गीतका गायक र संगीतकारका रूपमा अम्बर प्रत्येक नेपालीको मनसँग नजिकिए। अम्बर गुरुङले ‘नौ लाख तारा उदाए’ पछि कुनै गीत–संगीतको सिर्जना नगरेका हुन्थे भने पनि उनी यही एउटा गीतले नेपालीमाझ बाँचिरहन्थे। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ ले जसरी नेपालीबीच उनलाई अमर बनायो, झन्डै गीत–संगीतको क्षेत्रमा अम्बर गुरुङको ‘नौ लाख तारा उदाए’ ले उनलाई अमर बनाएको छ।

मैले यी पंक्तिहरू लेखिरहँदा अम्बर गुरुङ बितेको झन्डै दस घन्टा पुग्न लागेको छ। उहाँ बित्ने अघिल्लो दिन अब अन्तिमपटक अम्बर गुरुङलाई भेटौं भनेर म ग्रान्डी अस्पताल पुगेँ। तर, डाक्टरहरूको परीक्षण बेला परेकाले उहाँलाई हेर्न–देख्न पाइएन। ‘कहिले लहर कहिले तरंग’ र ‘दोभान’ को क्यासेट झिकेँ र सुन्न थालेँ। ‘दोभान’ सुन्दासुन्दै राति कुन बेला निदाएछु पत्तै भएन। बिहान समाचार सुन्दा त राति दुई बजे बित्नुभयो भनेर रेडियोले भनिरहेको सुनेँ। हिजो मात्र अम्बर गुरुङकी पत्नी, जेठा छोरा किशोरसहित तीनै जना छोरा, छोरी आदिलाई भेटेको सम्झिएँ।

अम्बर गुरुङ यसपल्ट तंग्रिएर फेरि उठ्नुहुन्छ भन्ने आश धेरैले मारिसकेका थिए। तीर्थ श्रेष्ठले अम्बर गुरुङलाई निवासमै गर्न लागेको सम्मान कार्यक्रममा बोलाउनुभएको थियो। तर, अर्को काममा अल्झेकाले जान पाइनँ। पर्सिपल्ट गायक अमृत गुरुङले भेट हुँदा ‘रघु दाइ अम्बर दाइलाई भेटी हाल्नुस् है, अब उहाँ धेरै दिन बाँच्न गाह्रो छ’ भनेर भनेको म अहिले सम्झिरहेछु। असी छुन लागेको उमेरमा क्यान्सरले आक्रमण गरेपछि बचाउन मुश्किल त पर्ने नै भयो।

२०६६ सालको कुरा हो। माधवकुमार नेपाल प्रधानमन्त्री हुनुभएको थियो र म उहाँको प्रमुख सल्लाहकार नियुक्त भएको थिएँ। नेपालयमा म अक्सर गइरहन्थेँ। आभाष, किरणकृष्ण श्रेष्ठ, अमृत गुरुङ, अर्पण शर्मा आदिसँग गीत–संगीत, पलेँटी र नेपालयका गतिविधि सम्बन्धमा छलफल–कुराकानी भइरहन्थ्यो।



संगीतकार, गायक र कवि आभाष अम्बर गुरुङका चेला पनि थिए। एकदिन उनैले अम्बर गुरुङले भेट्न चाहेको कुरा बताए र भेटघाटको समय मिलाए। बसेर प्रत्यक्ष कुराकानी नभएको वर्षौं बितिसकेकाले म पनि अम्बर गुरुङसँग बसेर कुराकानी गर्न चाहन्थेँ। त्यो बेला अम्बर गुरुङ महाराजगन्जस्थित शिक्षण अस्पतालको तलपट्टिको बस्तीमा रहेको छोरा किशोर गुरुङको घरमा बस्नुहुन्थ्यो।

भेटघाटको दिन आभाषले बिहानै फोन गरेर भने, ‘दाइ भेट्न आउँदा खाली हात नआउनु है!’

‘अनि के लिएर आउनु त?’ मैले सोधेको थिएँ।

‘तपाईं प्रधानमन्त्रीका सल्लाहकार, यसो कसैले गिफ्ट दिएको बोतल–सोतल छैन। रेड लेबल वा ब्ल्याक लेबल छ भने एउटा ल्याउनु न।’

नभन्दै मसँग गिफ्ट आएका दुई–तीन बोतल थिए। आफू नपिउने भएकाले ती त्यसै बसिरहेका थिए। मैले प्याकिङ नै नखोलेको एउटा गिफ्ट उठाएँ र अम्बर गुरुङकहाँ पुगेँ। अम्बर गुरुङको हातमा ‘दाइ यो राख्नुस् है’ भनेर दिएँ। र, आभाषलाई भनेँ, ‘ब्ल्याक लेबल हो कि रेड थाहा छैन। तर, दुइटामध्ये एउटा चाहिँ पक्कै हो।’

त्यो दिन झन्डै दुई–तीन घन्टा लामो गफगाफ भयो। गीत, संगीत, साहित्य, राजनीति र समाजबारे अनेक तर्कना र छलफल भए। त्यो दिन अम्बर गुरुङसँग बसेर फोटो खिच्ने सुरले म क्यामरा लिएर गएको थिएँ। मजाले गफ गर्दै बीचबीचमा फोटो सेसन पनि गर्यौं हामीले। त्यो दिनको भेटघाटमा पत्रकार गिरीश गिरी पनि उपस्थित हुनुहुन्थ्यो।

संगीतमा मात्र होइन, अम्बर गुरुङको साहित्य र संस्कृतिका विविध पक्षमा पनि राम्रो जानकारी र ज्ञान रहेको वास्तविकता मैले त्यसै दिन बोध गरेँ। छलफल क्रममा आफूलाई लागेका कुरा उहाँ जानकारीसहित विश्लेषण गर्नुहुन्थ्यो। ती विश्लेषण निकै तथ्य र तर्कपूर्ण लाग्थे।

नेपालका विभिन्न सांस्कृतिककर्मीले एउटै मात्र एकेडेमी रहँदा त्यो बढी साहित्यमा केन्द्रित भएकाले संगीत, नाटक र ललितकलाको छुट्टै एकेडेमी हुनुपर्ने माग निकै पहिलेदेखि राख्दै आएका थिए। त्यो मागलाई ध्यानमा राखेर विधेयक ल्याउन मैले सक्दो प्रयत्न गरेको थिएँ। अनेकौं प्रयत्न र दबाबपछि सरकारले पनि तीनवटा एकेडेमी बनाउने विधेयक संसदमा पेस गरेको थियो। तर, राजनीतिक अस्थिरताले लामो समयसम्म संसदमै विधेयक थन्किएको थियो।

२०६२÷६३ को जनआन्दोलनपछि संसद पुनस्र्थापना भयो र त्यो संसदमा पछि माओवादीहरू पनि थपिए। त्यो बेला म आफू पनि सांसद रहेकाले मैले ती तीनवटा विधेयक पास गराएर तीनवटै एकेडेमी छिटो बनाउन कुराकानी अघि बढाएँ। सरकारले संसदमा प्रस्तुत गरेका ती विधेयकमा आफ्नो तर्फबाट संशोधन प्रस्तावहरू पनि मैले दर्ता गराएको थिएँ। छलफल क्रममा मन्त्रालका कर्मचारीको रुढीवादी अडान र ती अडानलाई केही अन्य सांसदले समेत साथ दिँदा मेरा अधिकांश संशोधन स्वीकार गरिए पनि केही महत्वपूर्ण संशोधन स्वीकार्य भएनन्। तर, लगातार समितिको बैठक राखेर ती विधेयक पास गर्ने चरणमा पु¥याउन सफल भइयो।

माधवकुमार नेपाल प्रधानमन्त्री भएर आउँदा तीनवटै एकेडेमी गठन गर्नुपर्ने काम पनि बाँकी थियो। तीनवटै एकेडेमीमा विभिन्न दलका चाहना आए पनि मैले प्रधानमन्त्रीसमक्ष विवादरहित र आ–आफ्नो क्षेत्रमा विशिष्टता प्राप्त गरेका मान्छे मात्र कुलपति र उपकुलपतिजस्ता पदमा नियुक्त गर्नुपर्छ भन्ने विचार राखेको थिएँ। उहाँले पनि राजनीतिक भागबन्डामा होइन, व्यक्तित्वमा ध्यान दिनुहोस् र संस्कृति मन्त्रीसँग छलफल गरेर सहमति कायम गर्नुहोस् भन्ने निर्देशन दिनुभएको थियो। त्यतिबेला संस्कृति मन्त्री मीनेन्द्र रिजाल हुनुहुन्थ्यो।

संगीत–नाटक एकेडेमीका कुलपति र उपकुलपति कसलाई बनाउनु उपयुक्त होला भनेर मैले त्यसबेला विभिन्न लेखक–कलाकार र साथीहरूसँग छलफल गरेको थिएँ। अम्बर गुरुङलाई कुलपति वा उपकुलपतिमध्ये एउटा पदमा त ल्याउनैपर्छ भन्ने लागेको थियो। आभाष, अमृत, किरण, अर्पण आदिसँग पनि यस विषयमा नेपालयको कार्यालयमा छलफल भएको थियो।

आभाषको विशेष जोड अम्बर गुरुङलाई कुलपति नै बनाउनुपर्छ भन्ने थियो भने अमृत, किरण आदि पनि यही सल्लाह दिइरहेका थिए। सुनिल पोखरेलसँग पनि यस विषयमा पटक–पटक छलफल भएको थियो। सुनिललाई त्यसबेला मैले ‘तपाईं सदस्य–सचिव वा सदस्य कुनै पदमा गएर काम गर्नुहोस्’ भनेर भन्दा उहाँले ‘दाइ म गुरुकुल छाडेर अहिले कहीँ जान्न’ भनेर जवाफ दिएका थिए।

मैले सुनिलसामु गुरुकुल रहेको बानेश्वरको डाँडामा अभि सुवदीलाई पनि संगीत–नाटक एकेडेमीको उपकुलपति हुन आग्रह गरेँ। दोहोर्याएर पनि आग्रह गरेँ। उहाँले मान्नुभएन। संस्कृति मन्त्री मीनेन्द्र रिजाल र मबीच छलफल हुँदा अम्बर गुरुङलाई कुलपति र अभि सुवेदीलाई उपकुलपति बनाउँदा जोडी राम्रो हुनछ भन्ने चर्चा भएको थियो। सदस्य–सचिवका लागि संस्कृति मन्त्रीले कवि÷गीतकार तीर्थ श्रेष्ठको नाम अघि सार्नुभएको थियो। त्यो नाम उपयुक्त लागेकाले मैले पनि समर्थन जनाएको थिएँ।

अम्बर गुरुङ संगीत क्षेत्रको एउटा विशाल वृक्ष हुनुहुन्थ्यो भने अभि सुवेदी नाटकको क्षेत्रमा निरन्तर क्रियाशील र अन्तर्राष्ट्रिय स्तरका बौद्धिक हुनुहुन्थ्यो। उहाँ संगीत–नाटक एकेडेमीका उपकुलपति हुँदा नेपालको साहित्य र नाट्य क्षेत्रले विदेशमा समेत बौद्धिक रूपमा प्रभावकारी ढंगले प्रतिनिधित्व गर्न सक्थ्यो र प्रशासनिक रूपमा समेत अम्बर गुरुङलाई सहयोग पुग्थ्यो भन्ने लागेको थियो। तर, उहाँलाई मनाउन सकिएन।

जे होस्, नेपालमा स्थापित संगीत–नाट्य प्रज्ञा प्रतिष्ठानको पहिलो कुलपति अम्बर गुरुङलाई बनाउन पाउँदा त्यसले नेपाली संगीत क्षेत्रको सही प्रतिनिधित्व गरेको थियो भने अम्बर गुरुङको प्रतिभा र योगदानको सम्मान पनि भएको थियो।

हुन त अम्बर गुरुङ कुनै मान, सम्मान वा पद्वी चाहिने व्यक्तित्व होइनन्। उनी आफ्ना सिर्जनाका कारण नै नेपालीहरूबीच सम्मानित छन्। जब जब उनका गीत–संगीत बज्छन्, तिनले तब तब नेपालीको मनमस्तिष्कलाई झंकृत पारिरहने छन्।

अम्बर गुरुङ आफूलाई सग्लो नेपाली, मात्र नेपाली भनेर चिनाउन चाहन्थे। नेपालमा देखापर्न थालेको जातिवादी चिन्तनप्रति उनी असहमत देखिन्थे। समग्र नेपाल र नेपालीप्रति उनी प्रतिबद्ध एवं समर्पित देखिन्थे। आफ्नो ‘नौ लाख तारा उदाए’ भन्ने गीतप्रति भारतीय संस्थापनले देखाएको असहिष्णुताले उनको देशभक्तिलाई झन् बलियो र तिख्खर बनाइदिएको थियो।

नेपाली संगीतको वटवृक्षका रूपमा रहेका अम्बर गुरुङ अब हामीमाझ सशरीर छैनन्। तर, उनका गीत, शब्द र संगीत हाम्रामाझ जीवन्त छन् र बाँचिरहनेछन्। पुस्तौं पछिसम्म पनि।

अम्बर गुरुङको नाम किन अम्बर राखियो थाहा छैन। तर, जसले राखेको भए पनि ठिकै नाम राखेका रहेछन्। अम्बर गुरुङ अमर छन्, नेपाली स्रोतहरूका मनमा। जो अमर छ, त्यो त्यसै अमर छ। शरीर त नाशवान वस्तु हो, मरेर जान्छ नै।

अमर अम्बर गुरुङलाई हार्दिक श्रद्धाञ्जली।
स्रोत सेतोपाटी डटकम