'बेस र फेस' मा अल्झिएको नयाँ शक्ति



पोष्टबहादुर बस्नेत

करिब नौ महिना लामो राजनीतिक अभ्यासपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘नयाँ शक्ति नेपाल’ नामक पार्टी औपचारिक रूपले घोषणा गरेका छन्। पार्टी निर्माणका निम्ति उनले चुनौतीका पहाड पार गर्न भने बाँकी नै छ।

एक करोड रुपैयाँभन्दा बढी खर्च विवरणसहित समापन भएको उनको पार्टी भेलाले न कुनै औपचारिक पार्टी संगठन निर्माण गर्यो न त फरक–फरक पृष्ठभूमिबाट आएका नेता–कार्यकर्ताको उक्त भेलाले कुनै स्पष्ट राजनीतिक मार्गचित्र नै बनाउन सफल रह्यो।

सदस्यहरुका अनुसार नयाँ पार्टी घोषणासँगै भट्टराईले कम्तीमा गर्नुपर्ने दुई काम थिए– चुस्त केन्द्रीय समिति निर्माण र आन्तरिक लोकतन्त्रका निम्ति लोकपाल समूह, लेखा आयोग र निर्वाचन आयोग गठन। तर, धुमधामसँग सुरु भएको उक्त भेला पार्टीको औपचारिक घोषणामा मात्र सीमित हुन पुग्यो।

नेतृत्व चयनअन्तर्गत ९९ जनाको केन्द्रीय समिति बनाउने र त्यसको एकतिहाइ सदस्य रहने गरी सचिवालय निर्माण गर्ने भनिए पनि पद बाँडफाँडमा समस्या उत्पन्न भएपछि उक्त काम पछि निर्णय गर्ने गरी थन्क्याइयो। समावेशिताको सट्टा जातीय आधारमा ‘क्लस्टर’ बनाई शक्ति विभाजन गर्ने बाबुरामको नीतिले पनि पार्टीमा समस्या देखिएको नेताहरूको भनाइ छ।

नेपालमा मुख्यतः खस–आर्य, मधेसी र जनजाति गरी तीन ‘क्लस्टर’ भएको र उनीहरूबीच त्यसैअनुसार शक्ति बाँडफाँड हुनुपर्ने भट्टराईले सार्वजनिक रूपमै भनिरहेका छन्। पार्टीभित्र जनजाति नेतासहित मधेसका रामचन्द्र झा, रामकुमार शर्मा लगायतले त्यसैअनुसार ३३–३३ प्रतिशत पद दाबी गरेका थिए। मुख्य समस्या भनेको केन्द्रीय समिति बहुपदीय हुनुपर्ने भएकाले उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष लगायत ९ पदका लागि बाँडफाँड गर्नुपर्ने थियो। मंगलबार प्रज्ञा प्रतिष्ठान वरिपरिका रेस्टुरेन्टमा लन्चका लागि आएका नेता–कार्यकर्तामाझ ‘क्लस्टर’ कै विषयलाई लिएर चर्को विरोध र समर्थन देखिएको थियो।

‘मधेसबाट रामचन्द्र झालाई पदाधिकारी बनाउने कि रामरिझन यादवलाई बनाउने वा रामकुमार शर्मालाई बनाउने भन्नेमा समस्या छ,’ भट्टराईनिकट एक नेताले भने, ‘सबैलाई बनाउने हो भने अरूलाई पद पुग्दैन, झगडा गराउनुभन्दा पछि मिलाउने गरी केन्द्रीय समितिको गठन नै स्थगित गरियो।’

नयाँ शक्ति निर्माणमा अर्को विवाद थियो, बेस र फेसको। तत्कालीन एकीकृत माओवादीबाट युद्ध गरी नयाँ शक्तिमा लागेकाहरू आफूलाई पार्टीमा गतिलो आधार भएका वा ‘बेस’ भएका नेता मान्छन्। नयाँ आएकाहरूलाई ‘अनुहार’ मात्र हेरेर पार्टीमा ल्याइएको उनीहरूको धारणा छ। ‘फेस’वालाहरूसँग नेतृत्व सिप नभएको र आफू ‘जनयुद्ध’ देखि नै दुःख गरेर आएकाले पार्टीको अधिकांश कार्यकारी पदहरू आफूलाई नै प्राप्त हुनुपर्ने ‘बेस’वालाहरूको दाबी छ।

अर्कातिर, ‘बेस’वालाहरू पहिल्यै बदनाम रहेकाले नयाँ युवा पंक्ति पार्टीमा नआएको ‘फेस’वालाहरूले दाबी गरेका छन्। ‘उनीहरू आफू बदनाम भएका छन्, उनीहरूले पद ओगटेर नयाँलाइ निरुत्साहित गर्ने हो भने कसरी बन्छ नयाँ शक्ति?’ एक फेसवाला नेताले सेतोपाटीसँग भने। पुरानाले नै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भए नयाँ शक्तिको जरुरी नै नभएको उनले बताए।

पार्टीले ‘वाम’ भन्ने शब्दलाई मान्यता दिएकाले पनि ‘फेस’वालाहरू खुसी छैनन्। नेताहरूका अनुसार जनमुखी कार्यक्रम र कल्याणकारी राज्यको अवधारणा मात्र भए पुग्नेमा ‘वाम’ भन्ने शब्दलाई कर्मकाण्डी ढंगले प्रयोग गर्नुपर्ने आवश्यकता नभएको धारणा पूर्वसचिव रामेश्वर खनाल लगायतका नेताको थियो। उक्त शब्द पार्टी दस्तावेजमा प्रयोग भएका कारण ‘फेस’वालाहरू खुसी छैनन्।

‘जनयुद्ध’ कालदेखिको पार्टी मर्यादाक्रम र औपचारिकता अझै नातोडिएकोमा पनि उनीहरूको गुनासो छ। मंगलबार समापन समारोहमा सबै जना कुर्सीमा तर बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी सोफामा देखिएपछि दर्शकदीर्घामा कानेखुसी चलेको थियो।

यसैगरी, प्रस्तावित विधान मस्यौदाअनुसारको लेखा आयोग, निर्वाचन आयोग र लोकपाल आयोग पनि पार्टीको भेलाले गठन गरेन। वैकल्पिक राजनीतिक शक्तिको भाष्यअनुसार पार्टीको लोकतान्त्रिकीकरणका लागि ती संगठन निर्माण हुने जनाइएको थियो। लेखा आयोगले आर्थिक अनुशासन कायम गर्ने, निर्वाचन आयोगले प्रजातान्त्रिक ढंगले स्थानीय स्तरदेखि निर्वाचन र संगठन निर्माण गर्दै लैजाने र लोकपाल समूहले स्थानीय नेताहरूको सार्वजनिक जीवनमा उठेका प्रश्नको छानबिन गर्ने व्यवस्था पार्टीको प्रस्तावित विधान मस्यौदामा थियो।

‘कम्तीमा निर्वाचन आयोग गठन भएको भए स्थानीय स्तरदेखि लोकतान्त्रिक पार्टी संगठन निर्माण गर्न सकिने थियो, तर भट्टराईको त्यो पनि जाँगर देखिएन,’ पार्टीका एक सदस्यले भने।

भेला सकिएसँगै ५०२ जनाको केन्द्रीय परिषद र ४७ जनाको सचिवालयका एक्लो ‘प्राधिकार’ बाबुराम भएका छन्। अब आफ्ना र नयाँ पार्टीबाट आउने सदस्य थप्दै हजार जना जतिको परिषद निर्माण हुने भएको छ।

भेलाका क्रममा पार्टीभित्र र बाहिर भट्टराईको व्यक्तिवाद हाबी भएको भन्ने पनि चर्चा चल्यो। चे ग्वाभाराको जस्तो तस्बिर बनाएर गोरखापत्र बाहेकका प्रमुख दैनिकहरूमा ‘ज्याकेट’ विज्ञापन दिएको तर उक्त कुरा कसैलाई थाहा नदिएको गुनासो पनि केही सदस्यले गरेका छन्। भ्याट तिरेर मात्र दैनिक पत्रिका तथा टेलिभिजनमा विज्ञापन छापिएको नयाँ शक्तिका नेताहरूले दाबी गरेका छन्। यस सम्बन्धमा मिडियाका मालिकहरूले भने केही बोलेका छैनन्।

भेलाअघि र भेलाको समयमा भट्टराई मिडियामा धेरै नै छाए। यसले उनीबाहेक नयाँ शक्तिमा अरू कोही नेता छैनन् भन्ने पार्टीभित्र र बाहिर छाप पर्न गएको देखिन्छ, जुन नयाँ शक्तिको सामूहिक नेतृत्व र आन्दोलनको आदर्शसँग मेल खाँदैन।

भट्टराईका निम्ति सुखद पक्ष भनेको नयाँ पार्टीको घोषणा नै हो। आफ्नो राजनीतिक जीवन सुरु गरेदेखि नै संगठन निर्माणका सवालमा कमजोर मानिने भट्टराईले साँच्चै पार्टी घोषणा गर्छन् कि गर्दैनन् भनेर पार्टीका नेताहरूले नै चिन्ता व्यक्त गरेका थिए। त्यसैले पनि पार्टी घोषणा उनका निम्ति उपलब्धि हो।

अब उनका कार्यकर्ता जिल्ला फर्केर संगठन निर्माणका निम्ति काम गर्नेछन्। उनका निम्ति भने पुराना र नयाँ बीचको अन्तरविरोधको हल, पद बाँडफाँड, लोकतान्त्रिक अभ्यासमा आधारित चुस्त संगठन निर्माण लगायत चुनौती छन्। सबैभन्दा महत्वपूर्ण कुरा त यो पार्टी साँच्चै नै नयाँ वा ‘वैकल्पिक’ शक्ति भएको आभास दिलाउने चुनौती नै छ। उनले विकासका अमूर्त गफ र पहिचानका मुद्दा उठाएका छन्, जसको बहस पुराना शक्तिहरूले नै निर्माण गरेका थिए।

भट्टराईले भर्खर पार्टी शुरु गरेका छन, तर उनले पार गर्नुपर्ने चुनौतीका पहाड भने बाँकी नै छन lभट्टराईले भर्खर पार्टी शुरु गरेका छन, तर उनले पार गर्नुपर्ने चुनौतीका पहाड भने बाँकी नै छन l
स्रोत: सेतोपाटी