आउँदो वर्ष मेलम्चीको पानी काठमाडौँमा

काठमाडौँ, १ असार-मेलम्चीको पानी २०७४ असोज मसान्तसम्म काठमाडौँ आइपुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुन्दरीजलस्थित सुरुङ निर्माणस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै समितिका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले आयोजनाको १७.१४ किमी सुरुङ निर्माण सम्पन्न भएकाले अब बढीमा डेढ वर्षभित्रमा पानी आउने बताउनुभयो । “अब १०.४४ किमी सुरुङ निर्माण गर्न बाँकी छ, गत वर्ष वैशाखको भूकम्प र असोजपछिको नाकाबन्दीले काम रोकिँदा इटालियाली ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौतामुताविक २०७३ असोजमा सुरुङ निर्माण नसकिए पनि अर्को असोज अघि नै पानी आउँछ”–उहाँले भन्नुभयो । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसालेपछि प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याउने काम ४३ प्रतिशत सम्पन्न गरेको निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो । “सुरुङ निर्माण सम्पन्न हुनु अघि नै आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकावासीको घरघरमा पानी वितरणका लागि लाइन पुयाउँछ”– उहाँले भन्नुभयो ।