सुनको भाउ डेढ महिना यताकै महँगो

काठमाडौं असार, २-सुनको भाउ बढेर डेढ महिना यताकै महँगो भएको छ । सुनको भाउ बिहीबार ४ सय रुपैयाँले बढेर तोलाको ५७ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको बैशाख १९ गते तोलाको ५७ हजार रुपैयाँ पुगेको सुनको भाउ ५४ हजार रुपैयाँसम्म झरेको थियो । अन्तराष्ट्रिय बजारमा सेयर बजार कमजोर भएको र तेलको भाउ बढेकाले नेपालमा पनि सुनको भाउ उकालो लागेको महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि उकालो लागेको छ । बुधबार ५ रुपैयाँले बढेको चाँदीको भाउ बिहीबार पनि तोलामा १० रुपैयाँले बढेर ८ सय ५ रुपैयाँमा किनबेच भैरहेको छ ।