खुव भिजियो आज -दीपक विश्वकर्मा

खुव भिजियो आज

खुव भिजियो आज
आज भिजियो पहिलो झरीमा
लुच्छुप्पै भिज्ने गरी
तर पनि भिज्न सकिएन
मनको तहसम्म पखालिने गरी ।

निकै अनौठो स्वाद चाखियो बादलको
जो वर्षियो बुँद बुँद बनेर
तर पनि पखालिएन आँतको धुलो
जमेर बसेको नउत्रिनेगरी ।

गर्जियो यसै बीच सगर
धर्ती कम्पन हुने गरी
तर पनि उफानिन सकेन मान
गडगडाउँदो खहरे सरी ।

घामको सट्टामा उदायो ईन्द्रधनुष
रङ्गका समागमहरू देखाउँदै
तर पनि उज्यालिन सकेन मन
किरणहरू यत्रतत्र परावर्तन हुने गरी ।