"तिमी बदलिएछौ " -मुना धनन्जय

"तिमी बदलिएछौ "
मुना धनन्जय

तिमी बदलिएछौ पूरापूर
 थाहै नपाई नपाई
तिम्रो कोमल मन एकाएक
कठोर बनेको देखें
तिम्रो हँसिलो मुहार
मलाई देख्नासाथ
अनायास एकैचोटी
अन्धकारले छोपेको देखें
 उदारताले भरिएको
तिम्रो त्यो विशाल छाती
एकाएक साँगुरिएको
आभास भो मलाई
सहयोग निम्ति आतुर तिम्रा हात
खै!किन? किन  ?
अनुबन्धित देख्दै छु आज
मिठासले भरिएका
अमृत समान लाग्ने
तिम्रा ती बोलीवचन
एकाएक रूखा नमिठा
घोचिला पेचिला खै! किन?किन?
तिमी अभिमानी थिएनौ
सरल सादगी थियौ तर
तिमीलाई केले अभियानको
पाठ पढायो थाहा छैन मलाई
एकाएक आज बदलियौ
खै!तिमीलाई देख्दा म आफै
चकित छु अनि अचम्मित
तिमीमा यति ठूलो परिवर्तनको
कल्पना पनि थिएन मलाई
तिमी यति कठोर निर्दयी हौला भन्ने
कहिल्यै सोचिन मैले
तर आश्चर्य तिमी पूरापूर
एकाएक बदलिएछौ
सायद तिमीलाई चिन्न
निकै ढिलो गरेँछु मैल
आखिर  तिमी एकाएक
बदलिएछौ पूरापूर
थाहै नपाई नपाई ।।