ऊ ठूलै नेता भएछ -मुना धनन्जय (कविता)


ऊ ठूलै नेता भएछ 

हिजो ऊ जनता थियो त्यसैले
जनताका अधिकार माग्दथ्यो
झुपडीका कुरा गर्दथ्यो
विकासका कुरा गर्दथ्यो
आज ऊ ठूलो नेता भएछ
त्यसैले सबै कुरा भुलेछ
हिजो भ्रष्टाचार विरूद्ध बोल्दथ्यो
अन्याय अत्याचार विरूद्ध बोल्दथ्यो
समानता स्वतन्त्रताको वकालत गर्दथ्यो
किनकी त्यसबेला ऊ जनता थियो
तर आज सबै सबै भुलेछ
सायद ऊ आज ठूलै नेता भएछ
ऊ जनताबाटै ठूलो नेता बनेको हो
तर ऊ ठान्दो छ आफ्नै पुरुषार्थबाट
जनताको भर्याङ् चढेर ठूलो नेता बनेको
सायद उसले भुलेछ
आज  त ऊ  ठूलै  नेता भएछ
हिजो सत्य बोल्दथ्यो
इमान्दारिताको कुरा गर्दथ्यो
जनताका मुक्तिको कुरा गर्दथ्यो
किनकी हिजो ऊ जनता थियो
आज ती सबै सबै भुलेछ
कारण आज ऊ ठूलै नेता भएछ।