"एक मुठी सास" मुना धनन्जय

एक मुठी सास

परदेश गयौ बाबु तिमी
गएको नि धेरै भयो
सन्चो छ कि विसन्चो छ
पाकी छैन कुनै खबर
तिम्रै मुख हेर्न बाबु
एक मूठी सास साँचेकी छु।।

सबका छोरा घर फर्के
तिमी किन नफर्केको
आउँछु मात्र भन्छौ सधैं
नाम तिम्रै जपेकी छु
तिम्रै मुख हेर्न बाबु
एक मुठी सास साँचेकी छु।।

यसपालिको दशैॅमा मा त
घर जाने भन्थ्यौ अरे
ती दिनहरू आउलान् कैले
औँला भाँची बसेकी छु
तिम्रै मुख हेर्न बाबु
एक मुठी सास साँचेकी छु।।

घरको साँचो बुझाउन
वरव्यवहार बताउन
इच्छा केवल मात्र मेरो
मुटुवीच माया राखेकी छु
तिम्रै मुख हेर्न बाबु
एक मुठी सास साँचेकी छु।।