स्व. वीरेन्द्रको प्रयोगविहीन सम्पत्ति



- अश्विनी कोइराला

जेष्ठ २९, २०७३-
    राजनीति शास्त्रका अध्येताहरू दरबार हत्याकाण्ड नभएको भए नेपालमा गणतन्त्र आउन असम्भव मान्छन् भने सामाजिक अध्येताहरू दरबार हत्याकाण्डपछि समग्र नेपालीको मनोभाव नै परिवर्तन भएको ठम्याउँछन् ।

    गणतन्त्र आएपछि तत्कालीन राजदरबारलाई राष्ट्रिय संग्रहालय बनाउने एवं राजा वीरेन्द्र र उनका परिवारको सम्पत्तिलाई ट्रस्ट बनाएर ग्रामीण क्षेत्रको शिक्षा एवं स्वास्थ्यमा लगानी गर्ने निर्णय गरियो ।

    नेपाल ट्रस्टको स्थापनापछि सबैभन्दा ठूलो चासो विदेशमा थुपारिएको भनिएको तत्कालीन राजपरिवारका सदस्यहरू वीरेन्द्र–ऐश्वर्य र उनका परिवारको नाममा कति सम्पत्ति छ भन्ने नै थियो ।

    विदेशमा रहेको भनिएको सम्पत्ति न्यून भेटिए पनि नेपालमा भने तत्कालीन राजा वीरेन्द्र र उनका परिवारका नाममा करिब १ खर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति फेला परेको छ ।

तत्कालीन राजा वीरेन्द्र र उनका परिवारका सदस्यहरूको हत्या भएको १५ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति भएको उक्त घटना ‘दरबार हत्याकाण्ड’ का नामले स्मरण गरिन्छ । उक्त हत्याले नेपालको राजनीतिलाई मात्र परिवर्तन गरेन, नेपालको समाज मनोविज्ञानलाई नै परिवर्तन गर्‍यो । राजनीति शास्त्रका अध्येताहरू दरबार हत्याकाण्ड नभएको भए नेपालमा गणतन्त्र आउन असम्भव मान्छन् भने सामाजिक अध्येताहरू दरबार हत्याकाण्डपछि समग्र नेपालीको मनोभाव नै परिवर्तन भएको ठम्याउँछन् । दरबार हत्याकाण्डपछि नै राजसंस्थाप्रतिको नेपाली आस्था एकैपटक धर्मरायो र पर्खालभित्रको गोप्य कुरा बाहिर छताछुल्ल भए । त्यसभित्रका प्रेम र घृणाका कथाहरू सहरका गल्लीहरूमा मात्र होइन, गाउँका चौतारीहरूमा समेत खुला बहसको विषय बने ।

संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गरेपछि २ सय ३९ वर्ष पुरानो राजसंस्थाका सबै अधिकार कटौती गर्‍यो । गणतन्त्र आएपछि यो स्वभाविक नै थियो । यद्यपि जनताले अनुभूति गर्ने किसिमका दुईवटा निर्णयले भने जनस्तरमा सकारात्मक प्रभाव पारेका थिए । ती दुईमध्ये एउटा तत्कालीन राजदरबारलाई राष्ट्रिय संग्रहालय बनाउने घोषणा थियो भने अर्को हत्या गरिएका राजा वीरेन्द्र र उनका परिवारको सम्पत्तिलाई ट्रस्ट बनाएर ग्रामीण क्षेत्रको शिक्षा एवं स्वास्थ्यमा लगानी गर्ने निर्णय थियो । २०६४ सालमा संसद्बाट पारित भएको उक्त विधेयकले नेपाल ट्रस्टको स्थापना गरेपछि यो संस्थाले देश–विदेशमा राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति खोजी गरेको थियो ।

कति भेटियो सम्पत्ति ?
२०४६ सालअघि राजपरिवारले   आफ्नो सम्पत्ति विदेशमा लुकाएको कुराले ठूलो राजनीतिक बहस सुरु गरेको थियो । राजा र उनको परिवारले स्वीस बैंकमा अर्बौं रुपैयाँ थुपारेको हुन सक्ने समाचार बन्ने गरेका थिए । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा काठमाडौंका जनता होमिनुमा यस्ता समाचारले पनि काम गरेका थिए । जसै दरबार हत्याकाण्ड भयो, त्यसपछि यो मुद्दा एकाएक उचालिएर आयो । नेपाल ट्रस्टको स्थापनापछि सबैभन्दा ठूलो चासो विदेशमा थुपारिएको भनिएको तत्कालीन राजपरिवारका सदस्यहरू वीरेन्द्र–ऐश्वर्य र उनका परिवारको नाममा कति सम्पत्ति छ भन्ने नै थियो ।

नेपाल ट्रस्टको स्थापना भएको ८ वर्षपछि भने नेपाली जनता निराश हुने स्थिति छ । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा विदेशमा जम्मा–जम्मी ३ करोड नेपाली रुपैयाँ बराबरको मात्र सम्पत्ति फेला परेको छ । उक्त रकम विदेशी मुद्रामै नेपालको प्रभु बैंकमा सारिएको र वार्षिक २ हजार पाउण्ड ब्याज आउने व्यवस्था गरिएको छ । कतिपयले भने विदेशमा रहेको सम्पत्ति पत्ता लगाउन सक्ने विशेषज्ञको अभावमा सम्पत्ति फेला पर्न नसकेको बताएका छन् ।

नेपालमा १ खर्ब
विदेशमा रहेको भनिएको सम्पत्ति न्यून भेटिए पनि नेपालमा भने तत्कालीन राजा वीरेन्द्र र उनका परिवारका नाममा करिब १ खर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति फेला परेको छ । तीमध्ये धेरैजसो जग्गा–जमिन, बैंकहरूका सेयर तथा केही नगद रहेको नेपाल ट्रस्टको कार्यालयले जनाएको छ । राजा वीरेन्द्र र उनको परिवारका नाममा सबैभन्दा बढी काठमाडौंमा जग्गा जमिन देखिन्छ ।

काठमाडौंको महाराजगन्जस्थित १ रोपनी ७ आना मूल्यवान् जग्गा नेपाल ट्रस्टको नाममा छ । पूर्वराजा ज्ञानेन्द्रको निजी घर छेउको उक्त जग्गा दरबार हत्याकाण्डका प्रमुख आरोपी दीपेन्द्रको भएको खुल्यो । अहिले उक्त जग्गामा निर्मल निवासको सुरक्षार्थ खटिने जवानहरू बस्छन् । उक्त स्थानमा रहेको घर र जग्गाको मूल्य करिब १ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

अर्को जग्गा बालाजुको इचङ्गुमा भेटिएको छ । स्थानीय किसानले अधियाँमा खेती गरिरहेको उक्त जग्गाको मोहीयानी हक कटाउँदा पनि साढे १० रोपनीभन्दा बढी जग्गा नेपाल ट्रस्टको अधीनमा आएको छ ।

अर्को जग्गा कालिमाटीबाट टेकु जाने सडकको गणेशमानपथमा भेटिएको छ । टाउन डेभलोपर्सले तत्कालीन राजपरिवारसँग जग्गा भाडामा लिएर आधुनिक व्यापारिक भवन बनाएको उक्त स्थानमा करिब २० रोपनी जग्गा रहेको जनाइएको छ । दरबार हत्याकाण्ड हुनुभन्दा ५ वर्षअघि ३० वर्षका लागि लिजमा दिइएको उक्त जग्गाको मूल्य पनि अर्बौं आँकिएको छ ।

वीरेन्द्र र उनको परिवारको नाममा काठमाडौंको ताहाचलमा अर्को महँगो जग्गा फेला परेको छ । एकमुस्ट ६२ रोपनी जग्गा रहेको उक्त स्थान अहिले खरिद अनुगमन कार्यालय तथा गरिबी निवारण कोषले भाडामा लिएका छन् ।

त्यसैगरी बालाजुबाट त्रिशुली जाने सडकमा झन्डै १ सय २३ रापनी जग्गा पनि नेपाल ट्रस्टको नाममा आएको छ । उक्त जग्गाको मूल्य पनि अर्बौ रुपैयाँ आँकिएको छ । उक्त जग्गालाई ट्रस्टले हालै भाडामा लगाएको छ ।

काठमाडौंको पर्यटकीय केन्द्र ठमेलबाट सामाखुसी जाने ओरालोमा ९ आना जग्गा पनि पूर्वराजा वीरेन्द्रको नाममा फेला परेको छ । उक्त जग्गा मोहीले प्रयोग गरिरहेको अवस्थामा फेला परेको हो ।  त्यसैगरी काठमाडौंबाट दक्षिणकाली जाने सडकमा पर्ने रोडमा रेहेको ६८ रोपनी जग्गा भने नि:शुल्क रूपमा सरकारी स्कुल त्रिभुवन आदर्श माध्यमिक विद्यालयले प्रयोग गरिरहेको अवस्थामा फेला परेको छ ।

स्रोत: कान्तिपुर साप्ताहिक
यो खोजि समाचार पुरै पढ्न तलको लिंकमा  क्लिक गर्नुस

http://saptahik.ekantipur.com/news/2016-06-11/20160610155334.html