महानायक राजेश दाई : तपाई यसकारण राजनीतिमा आउनैपर्छ


- सरगम भट्टराई 

 राजेश हमाल नेपालका महानायक हुन् | अहिलेको नेपालमा यस्तो मान्छे पाउन गाह्रो होला जसले नेपाली चलचित्रको यो हिरोको बारेमा थाहा नपाएको होस् | तिन दशकसम्म नेपाली चलचित्रमा एक छत्र राज गर्न सकेका हमाललाई त्यही भएर नै होला जनस्तरबाट महानायकको सम्मान मिलेको छ |

चलचित्रमा दुखि र गरिबका पक्ष लिएर साहु महाजन र मुखियाहरुको दोहोलो काढ्ने यिनै हमालले अब रिलमा होइन रियल मै शोषित पिडित नेपालीको अभिभाबक बन्ने भनेर सार्बजनिक गरेका छन् |

द नेपाल टुडे डटकमका सतिश चापागाईंसंगको अन्तरबार्तामा उनले यो बिषयमा खुलेर बोलेका छन् | उनको पुरै अन्तरबार्ता हेर्दा लाग्छ हमाल पक्कै नेपाली राजनीतिमा लाग्छन | देश विकास गर्ने उनको हुटहुटिलाई शंका होइन सलाम गर्नुपर्छ, तर देशको राजनीति एउटा नायकको उपस्थिति मात्रले धमिलोबाट संग्लो होला भनेर विश्वास गर्न सकिदैन | तरपनि, बडो सोच र समझका साथ राजनीतिमा जान्छु भन्ने राजेशलाई भन्नै मन लागेको छ - 'यो सागरमा डुबेपछि हिरा नै लिएर आउने हिम्मत गर्नु होला है तर आफ्नो लागि होईन देशको लागि । आफ्नो लागि हिरा ल्याउनेहरु संग जनता वाक्क छन् ।

हामीलाई थाहा छ, भुकम्पले ढलेको बस्तीमा पुग्दा तपाई भुकम्प पिडित उजेलीको पीडा सुनेर रुनुभो,  तब धेरै नेपालीहरु पनि धुरु धुरु रोए । अँध्यारोमा बस्ने नाम मात्रका उजेली जस्ता कैयौ उजेलीहरु कुनै राजनीतिज्ञका आँखामा अटाएनन् ।

यिनै राजनीतिकर्मी  मध्येका केहिले त्रिपाल लुकाए, केहिले दाताले दिएको चामल बाटैमा बेचे कसैले जस्तापाता निले, अनि सबैभन्दा जिम्मेवार हुनुपर्ने सरकारले समयमा बाँड्न नसकेपछि भोकाएका मान्छेलाई हैन , भोकाएको जमिनलाई खुवाए । कोहि भुकम्प पिडितको रुपमा बिदेश भ्रमण गरे, कोहि पुनर्निर्माण गर्ने मान्छेहरु युरोप भ्रमण गरे | हामीले टुलुटुलु  हेरिरह्यौँ ।

दलको नाम किटेर भन्नु पर्दैन: देश बिकासका मेरुदण्ड रहेका युवाहरु निर्यात गरेर सबैले समृद्दिका गफ हाँकिरहे, स्विट्ज़रल्याण्ड, सिंगापुर बनाउने सपना बाँडिरहे | तर, परिवर्तन उनीहरुकै घरमा मात्र भयो । पटक पटक उनीहरु मिठा सपना बाँडिरहे,हामीले पत्याईरह्यौ, तिनै अमाननीयलाई माननीय बनाईरह्यौ | नयाँपन कतै देखिएन, देखियो त बिकास कै खिसीट्युरी ! देखियो त एक हुल बिकास हुल्लडहरुको उल्टो यात्रा ! युवाहरु बिदेश पलायन हुँदा केहि गर्न नसक्ने तर पलायन हुनेलाई दोष मात्र दिईरहने प्रबृर्ति कहिलेसम्म रहिरहने हो ?

सपना बाँड्नु त राम्रै हो, तर सपनाको बाटो नहिड्नु कसरी राम्रो हुन सक्थ्यो, सपनाको बाटोमा हिड्नेलाई काँडा ओछ्याउनु कसरी राम्रो हुन्थ्यो, त्यसैले सपना बाँड्नेहरु र सपना भाँड्नेहरु दुबै ख़तरनाक भईरहेकै बेला तपाईलाई कुनै पार्टीमा छिरेर राजनीति गरुँ गरुँ लागेछ । खोई राजेश दाई मैले तपाईलाई के सल्लाह दिउँ र ?

संसारले उन्नति र प्रगतिमा  फड्को मारिरहेको छ, हामी चैँ भ्रष्टाचारमा फड्को मारिरहेका छौँ, बिध्वंसमा फड्को मार्दै टेलिफ़ोन टावरहरु आगो लगाउनुलाई सामर्थ्य मानिरहेका छौँ ।  संसारले मंगलग्रहमा बस्ती बसाउदै छ, हामी भुकम्पले ढलेका, आगोले ढलेका गाउँका बस्ती उठाउन सकिरहेका छैनौ | घाँटी हेरेरै हाड़ निल्नुपर्ने छ, चन्द्रमामा बस्ती बनाउन सोचौँला तर अहिले त हाम्रै धर्तीमा पो बस्ती बसाउनु छ त ! पन्ध्र बर्षसम्म गाडी नचढेका र मर्ने बेलासम्म सिंहदरवार नदेखेकाहरुसम्म सरकार कहिले पुग्ने होला र खोई ?

यसैबेला राजनीतिमा तानातान हुँदा तपाईहरु गाउँ बस्ती जानु भो, देश बिदेश गएर सहयोगको याचना गर्नु भो, देशको ढुकुटीमा ठूलो रकम पनि जम्मा गर्नु भो अर्थात राजनीतिको लाज तपाईहरुले ढाक्नु भो ,तर सरोकारवालाले लाज राखेनन् । देशलाई दुख पर्दा  देशमा हुनेले गास कटाएर दिए, बिदेशमा हुनेले मन खोलेर दिए । तर देश चलाउनेहरु गम्भिर हुँदै भएनन्, त्यसैले देशको लागि साँच्चै केहि गर्न राजनीतिमा आउने तपाईको सोच राम्रै हो । कलाकार भएर तपाईहरु पुरै देश बनाउन सक्नु हुन्न तर तपाईहरुले उठाएका बस्तीले पुरै देश हसाउन बल पुगेको छ, पर्दाको दुनियाँमा अभिनय गर्न छाडेर त्रिपालको दुनियाँमा तपाई कलाकारहरु गईरहँदा हामी शुभचिन्तकहरुलाई खुशी लागेको छ । नेता बन्ने त तपाईहरु जस्तै मान्छे हो नि !

अहिले गिरानचौरमा धुर्मुस सुन्तलीले अभिनय हैन अभिनव गरिरहेका छन् | देशमा नागरिक जिम्मेवार हुनैपर्ने सन्देश दिईरहेका छन् | तपाई कलाकारहरु मध्ये धेरैले होस्टेमा हैंसे गर्दा ढलेका सबै बस्ती नउठेर के भो तीन करोड नेपालीको मन जुरुक्क उठिरहेको छ । हामीले तपाईहरु जस्तो कलाकार जन्मेकोमा गर्व र असफल राजनीतिज्ञ जन्मेकोमा पश्चाताप गरिरहेका छौँ । तपाईहरुका परोपकारी हातहरुलाई जति नमन गरेपनि पुग्दैन ।

हेर्नु भएकै त छ नि राजेश दाई ! देशमा के भईराखेको छ ? कर्मचारी, ब्यापारी अनि राजनीतिज्ञहरुको चाला ? मुलुकमा सबै भन्दा धनाढ्य बर्ग यहि तर जनतालाई सहयोग गर्न चुकेको बर्ग पनि यहि, जनतालाई नाकावन्दीमा पनि ढाड सेकेर लुटेको बर्ग पनि यहि , अनि के को आश गर्नु यिनीहरुबाट हैन र ?  त्यसैले यी सबै कुतत्वहरुलाई घृणान्जली गर्न तपाईहरु जस्ता राम्रा मान्छे राजनीतिमा आउनैपर्छ ।

हो तपाईलाई एउटा राम्रो पार्टीमा छिरेर देशको निस्वार्थ सेवा गर्ने मन छ भन्ने मैले सुनेँ | किनकी देश बनाउन निर्णायक ठाउँमा पुग्नै पर्छ, त्यसको लागि तपाईमा क्षमता पनि छ | तपाईलाई सबै नेपालीको दुखबारे एक एक थाहा छ, तर राजेश दाई खोई तपाईं कता जानुहुन्छ : तपाईंको बाटो सबैतिर बाटो खुला छ तर सबैतिर हाम्रा मनहरु भाँचिएका छन, कुँडिएका छन् यस्तो बेला एक शुभचिन्तकको रुपमा के सल्लाह दिउँ र ?

तर पनि देश बदल्ने भनेको तपाईले भनेजस्तै राजनीतिले नै हो । यो राजनीति नमूना बनाउन तपाई हामी नमूना हुनै पर्छ । दुई चार सय राजेश, मदनकृष्ण हरिवंश , उत्तम सन्जेल , रबिन्द्र र दुई चार सय धुर्मुस सुन्तली जन्मे पनि मुस्किलले हजार गाउँ र सय स्कूल त बनाउँला तर हाम्रा सबै गाउँ र स्कूल त हाम्रो दृढ ईच्छा शक्ति सहितको राजनीतिले बनाउने हो । खोई म पनि अलमल्ल छु, राजनीतिमा मान्छेहरुलाई अन्धकारमा राखि आफै मात्र झलमल्ल भएको बेला तपाईलाई कता जानुस भनौँ र ?

यति नै बेला हामी नागरिकले गर्न सक्ने एउटा काम छ | जस्ले राम्रो गर्छ त्यसलाई राम्रो भनिदिऊँ नराम्रो गर्नेको खेदो खनिदिऊँ । एउटा कलाकारले कुँदेर बनाएको सुन्दर मूर्ति जस्तै राजनीतिलाई सुन्दर कसरी बनाउने होला ? राजेश दाई : तपाईको सुपरहिट चलचित्र जस्तै राजनीति र देश सुपरहिट बन्नेछ भन्नेमा हामी नेपाली सधै आशाबादी रह्यौं र छौं |  झन् यो क्षेत्रमा अरु राम्रा मान्छेको रुचि र संलग्नता बढेको बेला तपाईको आगमनको समाचारले मनै फुरुंग भएको छ | नेपालीको भावना माथि खेलवाड हुने छैन भन्ने विश्वास छ |

तपाईले गर्ने राजनीति नामका लागि होइन कामका लागि होस्, शुभकामना !

(महानायक राजेश हमालसंगको मन छुने भिडियो अन्तर्वार्ता हेर्न यहाँ क्लिक गर्नुहोस)

,